डोटी। आइतबार (भोली)हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी डोटीमा अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका एक सय ७७ स्थायी र एक अस्थायी गरि १७८ वटै मतदान केन्द्रमा कर्मचारीहरु र निर्वाचन सामग्री पुगिसकेको जानकारी दिएको छ। एक गते नै सबै मतदान केन्द्रमा कर्मचारीहरुको टोली पुगिसकेको र उनीहरुले निर्वाचनसंग सम्वन्धित कार्यहरु सुरु गरिसकेको र आज मतदान केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले बताए।
मुख्य निर्वाचन अधिकृत पाण्डेयका अनुसार मतदान केन्द्र निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने, मतदाताहरुलाई विश्रामगर्न मिल्ने गरि निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिईएको छ।डोटी जिल्लामा एक सय १५ मतदान स्थलहरुमा १७७ मतदान केन्द्र रहेका छन्। कारागारका कैदीबन्दी र सरकारी कर्मचारीहरुले मतदान गर्न पाउने गरि कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको छ । अस्थायी मतदान केन्द्रमा करिब तीन सय अस्थायी मतदाता रहेको मुख्य निर्वाचन अधिकृत पाण्डेय वताउँछन्। उनले नेपाली सेना, सशस्त्र प्रहरी र दिपायल क्षेत्रमा रहेका सरकारी कर्मचारीका लागि दिपायल राजपुरमा रहेको सु-जङ्ग मतदान केन्द्र मतदान गर्ने व्यवस्था मिलाइएको वताए। यस्तै, तालिम केन्द्रमा रहेका प्रहरी कर्मचारीहरुका लागि दिल्पेश्वर मतदान केन्द्रमा व्यवस्था गरिएको समेत पाण्डेयले जानकारी दिए ।
निर्वाचनका लागि तीनवटै सुरक्षा निकायका गरि २४७२ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । ‘नेपाल प्रहरीबाट १५१८, नेपाली सेनाबाट ७४० र सशस्त्र प्रहरी बलबाट २१४ सुरक्षाकर्मी परिचालन भएका छन्,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन्, ‘तत्काल प्रतिकार्य समूह पनि तयारी अवस्थामा रहेका छन् ।’ उनले मोबाइल सुरक्षा टोलीहरू पनि परिचालन भइरहेका बताइन् । निर्वाचनको लागि कडा सुरक्षा प्रबन्ध मिलाइएकोले मतदाताहरुले ढुक्क भएर मतदान गर्न श्रेष्ठले आग्रह गरिन् । उनले भनिन्, ‘हामीले सुरक्षा अवस्थाको नियमित रुपमा अनुगमन गरिरहेका छौं, जिल्लाका बिभिन्न स्थानमा स्थलगत अनुगमन भएको छ, सुरक्षा अवस्था राम्रो छ।’
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मतादन स्थलका लागि तीन तहको सुरक्षा घेरा बनाइएको बताइन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेनालाई राखिएको उनले जानकारी दिइन् । डोटी जिल्लामा ६५ हजार ७३५ महिला र ५९ हजार १३५ पुरुष गरि एक लाख २४ हजार आठ सय ७० मतदाता रहेका छन् । जिल्लाबाट प्रतिनिधि सभाका लागि सत्ता गठवन्धनबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेकपा एमालेका गौरी ओली, राप्रपाका अंकबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका केशवबहादुर बलायर चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुसँगै दुई स्वतन्त्र उम्मेदवारहरु नरेन्द्रबहादुर खड्का र राजप्रसाद जोशी पनि प्रतिस्पर्धामा छन् । प्रदेश सभा ‘१’ मा सत्ता गठवन्धनबाट नेपाली कांग्रेसका नरेन्द्रबहादुर सिंह, नेकपा एमालेका चक्रबहादुर मल्ल, हाम्रो नेपाली पार्टीका शैलेन्द्र खड्का र राप्रपाका नेत्र नाथ चुनावी मैदानमा छन् । यस्तै, प्रदेश ‘२’ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शिवसिंह ओली, नेकपा एमालेका टेबबहादुर बम र राप्रपाका मोहनबहादुर बम चुनावी मैदानमा छन्।अनलाईन खवर/रामहरि ओझा