बैतडी। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एक मात्र क्षेत्र रहेको बैतडी जिल्लामा गठबन्धनतर्फका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर साझा उम्मेदवार रहेका छन् । यस्तै एमालेका तर्फबाट पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारी उम्मेदवार रहेका छन् । दुबैबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । त्यसो त यी दुईबीच २०६४ सालदेखि नै प्रतिस्पर्धा छ ।
तत्कालीन बैतडी क्षेत्र नम्बर १ मा २०६४ सालमा कुँवरले भण्डारीलाई पराजित गरेका थिए । तर २०७० सालको निर्वाचनमा कुँवर बैतडी १ मा भण्डारीसँगै पराजित भए ।२०७४ सालमा भने एमाले र नेकपा माओवादी केन्द्रको तालमेल भएकाले यो सिट एमालेको भागमा पर्यो । त्यसैले कुँवरले भण्डारीको सारथी भएर काम गरे । २०७४ सालको निर्वाचनमा भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई ११ हजार २३३ मतान्तरले पराजित गरे । भण्डारीले ३९ हजार ५२४ मत ल्याउँदा चन्दले २८ हजार २९१ मत मात्रै पाएका थिए ।
यसपालि कुँवर नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार छन् । यद्यपि कांग्रेस नेता केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसको बलियो हुँदाहुँदै माओवादी केन्द्रलाई छाडेको विरोधमा उनी बागी बनेका हुन् । तर चन्दको बागी उम्मेदवारीले आफूलाई कुनै फरक नपर्ने दाबी कुँवर गर्छन् । ‘यो गठबन्धनप्रति जनताहरुको आकर्षण बढ्दो छ, कार्यकर्ताको आकर्षण छ’, उनले भने, ‘जनताले दिएको म्याण्डेटलाई केपी शर्मा ओलीले कुल्चिएर अस्थिरतातर्फ लैजान खोजेका थिए, त्यो प्रवृत्तिको अन्त्य गर्न सबै गठबन्धनका कार्यकर्ता एक भएका छन्, हाम्रो जित पनि सुनिश्चत छ ।’
लगातार २ कार्यकाल सांसद रहेका भण्डारीले बैतडीका जनतालाई राहत दिनुको सट्टा आहत दिएको कुँरको आरोप छ । त भण्डारी यसलाई स्वीकार्दैनन्, १० वर्षे कार्यकालमा बैतडीमा थुप्रै विकासका कामहरु भएको र केही अधुरा कामलाई पूरा गर्न आफू फेरि उम्मेदवार भएको बताउँछन् उनी । ‘दुई पटक लगातार बैतडीबाट जनताहरुले जिताएको प्रतिनिधि हुँ’, उनले भने, ‘मैले यहाँको हरेक समस्या समाधान गरेको छु, अझै केही काम अपूरा छन्, ती काम पूरा गर्न मेरो उम्मेदवारी हो ।’
केपी ओली नेतृत्वमा सरकार हुँदा बैतडीमा सुरु भएका थुप्रै योजनाहरु अहिलेको गठबन्धनको सरकारले काटिदिएको आरोप पनि उनले लगाएका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने बैतडीमा नेकपा एमाले ठूलो दल हो, तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुको मत जोड्दा भने एमाले पछाडि छ ।एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत छ ।दुई पटक विजय हासिल गरिसकेका भण्डारी अहिले जित हासिल गर्ने दाउमा छन् भने कुँवर अहिले नेपाली कांग्रेसको बलियो साथ पाएर निर्वाचन जित्नेमा ढुक्क रहेका छन् ।