बैतडी। बैतडीका एक पुरुषको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। कामको सिलसिलामा भारतको पिथौरागढमा रहेका बैतडीको सिगास गाउँपालिका ६ जडानीकोटका ३२ वर्षीय हरिभान धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
मृतकका आफन्तका अनुसार भारतको पिथौरागढ जिल्लास्थित गिरेगडा भन्ने स्थानमा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका धामीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिहिबार साँझ धामीको मृत्यु भएको बताइएको छ। साँझ खाना खाएर कोठातर्फ गइरहेका बेला बाटोमा नै उनलाई अरिङ्गालले टोकेको थियो। मृतक धामीको घरमा श्रीमती र दुई छोरा छन् । पैसा कमाउन गएका युवकको भारतमै मृत्यु भएपछि परिवार विचल्लीमा परेको जनाइएको छ ।