कैलाली। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्नका लागि शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज बनाउने सपना बाँडेको आरोप लगाएका छन् । शुक्रबार बिहान कैलालीस्थित एमाले सचिव लेखराज भट्टको घरमा पार्टी प्रवेश कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जित्न डडेल्धुराको गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भनेर भोट मागेको बताए । कैलालीको गेटामा एमालेले बनाएको संरचनामा मेडिकल सञ्चालन नगरेर अन्तिम चुनाव जित्न गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भनेर भोट मागेको हो। ओलीले गेटा मेडिकल कलेज आफूहरूको सरकारले बनाएको दाबी गर्दै देउवाले चुनाव जित्न एमालेले बनाएको गेटा मेडिकल कलेज सञ्चालन गर्न छोडेर गन्यापधुरामा चलाउँछु भने तर त्यो सम्भव नभएको बताए ।
ओलीले भने, ‘देउवाले यो पटकको अन्तिम चुनाव जित्न हामीले बनाएको गेटा मेडिकल कलेज सञ्चालन गर्न छोडेर गन्यापधुरामा चलाउँछु भने । त्यहाँ कसरी मेडिकल कले चलाउँछन् रु मेडिकल कलेज चलाउन कम्तीमा पनि तीन सय बेड क्षमताको अस्पताल चलाउनु पर्छ । संरचना हुनुपर्छ । बिरामी हुनुपर्छ । तिनको उपचार गरेर विद्यार्थीले अनुसन्धान गर्ने होला । चुनाव जित्न जे पनि भनिदिने ।’उनको यो आश्वासन अन्तिम पटक डडेल्धुराबाट चुनाव जित्ने दाउ मात्रै हो ।’ उनले ७ अर्बका पूर्वाधार बनिसकेको ठाउँमा मेडिकल कलेज नचलाउनु भनेको सरकारको अकर्मण्यता भएको आरोप लगाए ।
‘यत्रो ‘इन्फास्ट्रक्चर’बनिसकेको ठाउँमा मेडिकल कलेज नचलाएर डडेल्धुरामा चलाउनु भन्नु सरकारको अकर्मण्ता हो, ओलीले भने ।अहिले सत्ता गठबन्धनमा रहेका दलहरूले चुनाव जित्न र सत्तामा जानका लागि जे पनि बोल्ने र जुनसुकै हदमा पनि जान कुनै कसर बाँकी न छोडेको ओलीको भनाइ थियो। एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज भट्टको निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादीका धनगढी नगर अध्यक्ष मदनराज रेग्मीसहित विभिन्न पार्टीबाट २ सयजना कार्यकर्ता एमाले प्रवेश गरेका छन् । ओलीले आजै कालापानी लिपुलेक भएको जिल्ला दार्चुलाबाट चुनावी प्रचार अभियान सुरु गर्दैछन् । बिहीबार दार्चुलाको खलंगामा आयोजित चुनावी सभापछि ओलीले बैतडीको पाटन र त्यसपछि आजै कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।