डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले आज डडेल्धुरको अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन। निर्वाचन आयोगले राजनीतिक दललाई आमसभा गर्न अनुमति दिएको पहिलो दिन देउवाले आफ्नो निर्वाचन क्षेत्रमा पहिलो चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन।
देउवाको डडेल्धुरमा ४ दिन चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । देउवा आज अमरगढीमा हुने कार्यक्रममा सहभागी हुँदै छन भने १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा, १९ गते अजयमेरु गाउँपालिका तथा भागेश्वर गाउँपालिका र २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुने छन ।
डडेल्धुरामा चुनाव प्रचार गर्न देउवा नेपाली सेनाको हेलिकोप्टर मार्फत बुधबार नै धनगढी पुगेका थिए । यसअघि चुनावी प्रचारका लागि डडेल्धुरा आउनु अघि देउवाले निर्वाचन आयोगबाट अनुमति लिएका थिए । आयोगले देउवालाई चुनावी प्रचारका लागि शर्त राखेर अनुमति दिएको छ । उनलाई सरकारी स्रोत–साधन प्रयोग नगर्ने शर्तमा उनलाई प्रचारप्रसारको अनुमति दिइएको हो ।