बाजुरा। आसन्न मंसिर ४ गतेको निर्वाचनमा बाजुरामा गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमाले बिच प्रतिस्पर्धा हुँदैछ। एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको बाजुरामा मुख्य भिडन्त प्रमुख सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका दुई प्रभावशाली नेताबीच हुने भएको हो।
सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डे र एमाले सुदूरपश्चिमका सह-इन्चार्ज कर्णबहादुर थापा पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। बाजुरामा नेकपा एमालेलाई ०७४ सालको विरासत जोगाउनुपर्ने चुनौती रहेको छ। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामले एमाले उत्साहित छ। नेपाली कांग्रेस सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथले ०७४ को नतिजा उलटफेर गर्ने रणनीतिका साथ मैदान उत्रिएको छ।
पाण्डे र थापाबाहेक बाजुरामा प्रतिनिधि सभातर्फ राप्रपाका जंगबहादुर गिरी, जनसमाजवादी पार्टीका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल पनि चुनावी दौडमा छन्। एमालेले प्रदेश सभा (१) मा बलदेव रेग्मी र प्रदेश सभा (२) मा लालबहादुर थापालाई उम्मेदवार बनाएको छ। सत्तारुढ गठबन्धनबाट प्रदेश सभा (१) मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुवैको उम्मेदवारी छ। माओवादी केन्द्रबाट कर्णबहादुर विश्वकर्मा र नेकपा एकीकृत समाजवादीबाट नरेशकुमार शाही मैदानमा छन्। प्रदेश सभा (२) मा नेपाली कांग्रेसका पदमबहादुर शाही उम्मेदवार छन्। कांग्रेसले बाजुरामा ०६४ सालको पहिलो संविधान सभा चुनावपछि प्रतिनिधि सभामा जित निकाल्न सकेको छैन। अहिलेसम्म भएका ६ वटा निर्वाचनमध्ये नेपाली कांग्रेस र एमालेले ३/३ वटा संसदीय चुनाव जितेका छन्।०४८ सालको चुनावमा नेपाली कांग्रेसका देवराज जोशीले एमालेका हिक्मतबहादुर शाहीलाई हराउँदै संसद् यात्रा तय गरेका थिए।
त्यसपछि ०५१ को चुनावमा एमालेका शाहीले कांग्रेसका जोशीलाई हराउँदै ०४८ को बदला लिए। त्यसयता ०५६ र ०६४ को चुनावमा लगातार कांग्रेसले बाजी मार्यो।०५६ मा कांग्रेसका जनकराज गिरीले एमालेका कर्णबहादुर थापालाई उछिन्दै बाजुरामा कांग्रेसको झण्डा फहराए। यस्तै, ०६४ को पहिलो संविधान सभा चुनावमा कांग्रेसका देवराज जोशीले एमालेका थापालाई हराएका थिए।त्यसयता कांग्रेसले बाजुरामा जित्न सकेको छैन। ०७० दोस्रो संविधानसभा चुनावमा एमालेका कर्णबहादुर थापाले कांग्रेसका मानबहादुर रावललाई उछिन्दै पहिलोपटक संसदको यात्रा तय गरेका थिए।०७४ को चुनावमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका एमालेका लालबहादुर थापाले कांग्रेसका कविराज पण्डितलाई हराएका थिए। यसपटकको चुनावमा नेपाली कांग्रेस १५ वर्षपछि जितमा ‘कमब्याक’ गर्ने रणनीतिमा छ।
को हुन् कांग्रेस उम्मेदवार बद्री पाण्डे- बद्री पाण्डे पहिलोपटक प्रत्यक्षतर्फबाट संसदीय चुनावको सामना गर्दै छन्। यसअघि ०७० सालको संविधान सभाको चुनावमा पाण्डे समानुपातिक तर्फबाट सांसद भए भने ०७४ मा उनी राष्ट्रिय सभाको सदस्य बनेका थिए। वि.सं. ०४३ मा नेपाल विद्यार्थी संघबाट राजनीति थालेका पाण्डे ०४७ मा वाल्मीकि क्याम्पसमा एकाइ सदस्य हुँदै ०४९ मा एकाइ सचिवमा चुनिएका थिए। २०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष, ०५२ मा वाल्मीकिमै एकाइ अध्यक्ष, ०५३ मा वाल्मीकिको स्ववियु र ०५४ मा स्ववियु परिषदको सभापति भएका थिए । २०५६ मा नेविसंघको केन्द्रीय सदस्य, ०५९ मा उपाध्यक्ष भए। उनी ०६४ को १०औँ महाधिवेशनमा प्रदीप पौडेलसँग हारेका थिए । ०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य पद जिते। ०७२ मा भएको १३औँ महाधिवेशनमा खुलाबाटै केन्द्रीय सदस्य बने-पाण्डे। त्यसपछि उनी कांग्रेसको १४औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री चुनिए। उनै पाण्डे जित हासिल गर्दै ०६४ यता बाजुरामा गुमेको कांग्रेसको पुरानो साख फर्काउन कस्सिएका छन्।कांग्रेस बाजुराका सभापति रामसिंह रावलले सत्तारुढ गठबन्धनका दलहरूको साथ पाएकाले जित हासिल गर्न सहज हुने बताए । गठबन्धनका दलहरूको साथले गठबन्धन मजबुत रहेकाले गठबन्धनले जित्नेमा ढुक्क रहेको उनले बताए । विगतमा एमालेले जितेको भएपनी जनताको पक्षमा काम गर्न नसकेको उनले बताए । तर हामीलाई जित्ने विश्वास लागेको छ । जनताले गठबन्धनलाई जिताउने उनले भने।
को हुन् एमाले उम्मेदवार कर्ण थापा- एमालेका कर्णबहादुर थापा बाजुरामा चौथोपटक संसदीय चुनाव लड्दै छन्। यसअघिका तीन चुनावमा उनले दुईमा हार र एकमा जित हासिल गरेका छन्। थापा पहिलोपटक ०५६ सालमा हारे, त्यसपछि ०६४ मा पनि उनले जित्न सकेनन्। ०७० को चुनाव जितेर उनले संसदको यात्रा तय गरेका थिए। ०७४ मा पनि जितेको नेकपा एमालेलाई यसपटक पनि जित दिलाउने दाउका साथ थापा चुनावी मैदानमा छन्। आफ्नो पुरानो हारको घाउ मेटाउन उनी जितको खोजीमा चुनावी अभियानमा व्यस्त छन्। एमालेको भ्रातृ संस्था अनेरास्ववियुबाट राजनीति गरेका थापा नेपाल ल क्यापसमा स्ववियु सभापति बनेका थिए। त्यसपछि उनले बाजुराबाट एमालेको जिल्ला राजनीति थाले। थापा बाजुरामा तीनपटक एमाले अध्यक्ष बनेका थिए। त्यसपछि उनी अञ्चल कमिटी हुँदै केन्द्रीय कमिटीको सदस्य बनेका थिए।
पार्टी विभाजनको पीडाबाट गुज्रिरहेको एमालेको मत यथावत् राख्दै गठबन्धनको मत तान्नुपर्ने चुनौतीमा छन्– थापा। उनलाई एमालेबाटै पनि असहयोग हुनसक्ने अनुमान छ। थापालाई गठबन्धनको मत तान्नुका साथै एमाले नेता भीम रावल निकटको मन जित्नुपर्ने चुनौती छ। अछाममा रावललाई उम्मेदवार हुनबाट वञ्चित गराउन थापाले मुख्य भूमिका खेलेको एमाले वृत्तमा चर्चा छ। बाजुरामा रावलनिकट कार्यकर्ताको निर्णायक भोट छ। नेकपा एमाले बाजुराका अध्यक्ष कालीबहादुर शाही प्रतिनिधि र प्रदेश दुवै सभाका सदस्यमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्छन्। बाजुरामा चुनावी माहोल बनिरहेको बताउँदै महागठबन्धन भए पनि हाम्रा लागि केही समस्या नहुने उनले बताए । उनले गठबन्धनलाई हामी सहज ढंगले पराजित गर्ने अवस्थामा रहेको बताए । गठबन्धनभित्र ठूलो अन्तर्विरोध रहेकाले एमालेको जित निश्चित भएको उनले दावी गरे ।
स्थानीय तह निर्वाचन: स्थानीय तह निर्वाचनमा बाजुराका ९ पालिकामध्ये नेकपा एमालेले ६ पालिका प्रमुख र कांग्रेसले ३ पालिका प्रमुख पद जितेका छन्। नेकपा एमालेका पालिका प्रमुखका उम्मेदवारले ३१ हजार २२ मत, नेपाली कांग्रेसले २६ हजार ६५१ मत, नेकपा एकीकृत समाजवादीले १ हजार ३४३ र माओवादी केन्द्रले २३१ मत छ ।पालिका प्रमुखका उम्मेदवार गठबन्धनका पक्षमा कूल २८ हजार २५५ मत छ। तर केही स्थानीय तहमा नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए। कूल ६९ वडामध्ये नेकपा एमालेले ३८, कांग्रेसले २७ र माओवादी केन्द्रले ४ वटा वडामा जित हासिल गरेका छन्।संख्यामा वडा बढी जिते पनि एमाले वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धनभन्दा पछाडि देखिन्छ।निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरूको मत केलाउँदा एमालेले २७ हजार ६५५ मत, प्रतिस्पर्धी कांग्रेसको २४ हजार ४ सय ५७ मत,माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सय ७२ मत र स्वतन्त्रतर्फका उम्मेदवारहरूले ५ सय ८४ मत प्राप्त गरेका छन्। ०७४ सालको चुनावमा प्रतिनिधि र प्रदेश सभातर्फ बाजुरामा नेकपा एमालेले बाजी मारेको थियो। वाम गठबन्धनका साझा उम्मेदवार एमालेका लालबहादुर थापाले प्रतिनिधि सभा सदस्यमा जितेका थिए। उनले २८ हजार ६५ मत ल्याउँदा कांग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याएका थिए। प्रदेश सभा १ (१) मा नेकपा एमालेका बलदेव रेग्मी ९ हजार ८४० मत(विजयी) भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार ३०१ मत,यस्तै, प्रदेश सभा (२) मा एमालेका प्रकाशबहादुर शाह १८ हजार १८६ मत(विजयी) हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका प्रकाशबहादुर शाहीले १४ हजार ९७७ मत ल्याएका थिए।