काठमाडौं। नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र सोमबार (भोलि) जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो।
प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ । अभियोजनपत्र दायर भएपछि अदालतमा सन्दीपको बयान हुनेछ।
त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ। यो प्रक्रिया आउँदो मंगलबारसम्म सकिने बताइएको छ । एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ । सो होटेलको सीसीटीभी फुटेजमा त्यस दिन सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र भोलिपल्ट बाहिरिएको देखिएका छन्। सोही प्रमाणका आधारमा पनि सन्दीप पुर्पक्षका लागि जेल जाने सम्भावना बढी भएको प्रहरी र सरकारी वकिलहरू बताउँछन्।
एक सरकारी वकिलले भने, “प्रमाणहरू हेर्दा कुनै पनि हालतमा सन्दीप तारेख वा धरौटीमा छुट्ने सम्भावना छैन। उनी नाबालिगसँग होटेल प्रवेश र बाहिरिएको प्रस्टै देखिन्छ। यो फुटेज नै उनी पुर्पक्षमा जाने पहिलो प्रमाण हो ।” पुर्पक्षका लागि थुनामा गए पनि अदालतको अन्य प्रक्रिया निरन्तर अगाडि बढ्नेछ। भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए। केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए। सोही क्रममा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा उनी अमेरिकाबाट नेपाल आएको खुलेको थियो। सरकारी वकिलसँगको बयानका क्रममा सन्दीपले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गरेका छन्। भदौ ५ गतेको होटेल काठमाडौं इनको सीसीटीभी फुटेज रिपोर्टसँगै होटेलका कर्मचारीको बयान पनि अभियोजनपत्रमा उल्लेख छ। पीडितको बयान, मेडिकल जाँच पनि अभियोजनपत्रमा समावेश छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएको छ।