डोटी। डोटीमा मंसिर४ गते हुने आसन्न निर्वाचनमा उम्मेदवार बिच रोचक प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनको टिकट बाँडफाँटमा डोटीमा प्रतिनिधिसभा सीट नेकपा एकीकृत समाजवादीको भागमा परेपछि नेकपा एसको टिकट पूर्वमन्त्री प्रेम आलेले पाएका छन्।
डोटीमा त्यसपछि नेपाली कांग्रेस भित्र निकै ठूलो विद्रोहको संकेत देखिएपछि पार्टीका जिल्लास्तरका केही ‘ठूला नेता’ नै बागी लड्ने घोषणा गर्दै डोटी फर्किएका थिए । आलेले टिकट हात लागेदेखि नै बागी उठ्ने घोषणा गरेका कांग्रेसका असन्तुष्ट नेता फकाउनतर्फ लागेका थिए । अन्तिम अवस्थामा पार्टीको ‘ठूला नेता’ले उम्मेदवारी दिएनन्। आले उनीहरूको बागी उम्मेदवारी ‘रोक्न’ सफल भए । आले यसरी ठूला नेतालाई रोक्न प्रयास गरिरहँदा कांग्रेसको क्षेत्रीय प्रतिनिधिमात्रै रहेका नरेन्द्र खड्काले ‘छापामार शैली’मा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर स्वतन्त्र उम्मेदवारी दिए।
फोन स्वीच अफ गरेर कांग्रेसका केही नेता र आले स्वयम् घरमै पुगेर अनुनय गर्न थाले । सोही क्रममा आफूलाई प्रलोभन पनि दिएको खड्का बताए। खड्काले आफ्नो उम्मेदवारी कुनै वाद र गठबन्धनभन्दा माथिको रहेको बताए । खड्काले यही कुरा उहाँहरूलाई भने’, खड्काले भने,‘म राजधानी (सुदूरपश्चिम प्रदेशको राजधानी(दिपायल)को एजेण्डामा विगतदेखि संघर्ष गरिरहेको व्यक्ति हुँ । अघिल्लो निर्वाचनमा उहाँहरू पनि यही एजेण्डामा भोट माग्दै हुनुहुन्थ्यो । मैले प्रस्ट भने: अहिले नै राजधानी दिपायल तोकाउनुस् म उम्मेदवारी फिर्ता लिन्छु।’ यसरी खड्काले अडान लिएपछि उनको उम्मेदवारी कायम छ । आयोगले ‘क्रस खुकुरी’ चुनाव चिन्ह दिएपछि उनी प्रचारप्रसारमा जुटिसकेका छन्। यता उनको उम्मेदवारी कायम रहेसँगै समर्थन व्यापक बढ्दै गएको छ। सुरूमा निरपेक्ष रहेका अधिकांश कांग्रेस कार्यकर्ता खड्काले चुनावी सक्रियता बढाएसँगै उनकै पक्षमा खुल्दै गएका छन् । आन्तरिक रुपमा जिल्लाका प्रभावशाली नेताहरू पनि गृहकार्यमा जुटिसकेका छन् ।
को हुन् खड्का, के हो एजेण्डा
स्वतन्त्र उम्मेदवार खड्का कांग्रेसका सामान्य कार्यकर्तामात्रै भए पनि सामाजिक पृष्ठभूमि भएका पात्र हुन्। २०२९ सालमा डोटीको गैरागाउँमा जन्मिएका खड्का शिक्षा आर्जनपछि गाउँकै एक विद्यालयमा शिक्षक थिए। शिक्षण सँगसँगै नेत्रेश्वरी युवा क्लब गठन गरेर विभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न भए । त्यसक्रममा उनको क्लबले एक अन्तर्राष्ट्रिय दातृ संस्थासँग पनि सहकार्य गरेको थियो । यही कुरा तत्काल सशस्त्र संघर्षमा रहेको माओवादीलाई मन परेन। खड्का गाउँबाट लखेटिए। त्यसपछि विस्थापित भएर सुरक्षित स्थान खोज्दै दिपायलमा पुगेर उनले व्यवसाय थालेका थिए।
व्यवसाय सँगसँँगै डोटी उद्योग वाणिज्य संघमा आवद्ध भएर व्यवसायिक हित प्रवर्द्धनका लागि काम गर्न थाले। सुरूमा उद्योग वाणिज्य संघको सदस्यमा हारेका उनी त्यसपछि दुई कार्यकाल महासचिव भएर अध्यक्ष बनेका छन् । यही क्रममा खड्काले अगुवाइ गरेर डोटीको औद्योगिक विकास, पर्यटन विकास, कृषि क्षेत्रको प्रवर्द्धन, युवा तथा खेलकुदको विकासका लागि काम गरेका छन् । यस्ता सामाजिक काममा उनले आफ्नो मेहनत प्रदर्शन गरेर स्थानीयस्तरमा लोकप्रियता कमाएका छन्।
डोटी उद्योग वाणिज्य संघमा खड्का अध्यक्ष रहेकै वेला २०७४ मा सुदूरपश्चिम प्रदेशको राजधानीका लागि आवाज उठेको थियो। डोटीका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज, स्थानीय वुद्धिजीवी सबै बसेर राजधानीका लागि दबाबमूलक आन्दोलन गर्ने र त्यसको संयोजन साझा व्यक्तिका रूपमा खड्काले गर्ने निर्णय गरेका थिए । त्यही क्रममा खड्काकै नेतृत्वमा ६४ दिन दिपायलमा आन्दोलन भएको थियो । तर, त्यो आन्दोलनले फल दिएन। सुरूमा २०७४ माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी मुकाम धनगढी तोकिदियो । यसक्रममा डोटी कांग्रेसका सयौं नेता(कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका थिए । त्यसपछि पनि जारी रहेको आन्दोलनका कार्यक्रमहरूमा तत्काल सांसदमात्रै रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, तत्कालीन सांसदहरू पूर्णा जोशी, अर्चना गहतराज, भरत खड्का पनि सहभागी थिए। उता आलेले प्रतिनिधिसभामा निर्वाचन लड्दा नै ‘प्रदेश राजधानी दिपायल बनाउने र बनाउन नसके राजीनामा दिने’ भन्दै भोट मागेका थिए ।
२०७५ असोज १२ गते प्रदेशसभाको स्थायी राजधानी गोदावरी तोक्दा आन्दोलन गर्नेमध्येकै मुख्यमन्त्री भट्ट, सांसदद्वय जोशी र गहतराजले त्यसको पक्षमा मतदान गरेका थिए। आले संघीय सांसद भएकाले कुनै प्रतिक्रिया नदिई बसेका थिए। डोटीमा आले, मुख्यमन्त्री भट्ट, जोशी र गहतराजलाई ‘राजधानीसँग मन्त्री पद साटेको’ आरोप छ । हुन पनि त्यसपछि उनीहरू धमाधम मन्त्री बनेका थिए। अहिले यही कुरालाई खड्काले आफ्नो चुनावी एजेण्डा बनाएका छन् । उनले ‘डोटीको अस्तित्वसँग पद साँट्ने’ हरूविरुद्ध आफ्नो उम्मेदवारी रहेको भन्दै सन्देश प्रवाह गरिरहेका छन्। जुन कुरा दिपायल आसपास क्षेत्रका बहुसंख्यक जनताले समर्थन गरिरहेका छन्। योसँगै कांग्रेसका असन्तुष्ट नेतारकार्यकर्ताहरूले समेत उनलाई साथ दिइरहेका छन्।
कस्तो छ समीकरण ?
डोटी चुनावी इतिहासमा सधैं कांग्रेसकै शक्तिशाली जिल्ला हो। २०१५ को आम निर्वाचनमा डोटीका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसका शिवराज पन्त निर्वाचित भएका थिए । २०३६ को जनमत संग्रहमा पनि डोटीबाट ‘सुधारिएको पञ्चायत’लाई ‘बहुमत’ले जितेको थियो भने बहुदलपछि २०४८ देखि २०५६ सम्म लगातार दुइटै क्षेत्र कांग्रेसले जितेको थियो । २०६४ को पहिलो संविधानसभामा प्रत्यक्षतर्फ दुइटै क्षेत्र कांग्रेसले गुमाए पनि समानुपातिकमा पहिलो दल नै बनेको थियो । २०७० मा पुग्दा डोटी क्षेत्र नम्बर १ मा पूर्वमन्त्री वीरबहादुर बलायर फराकिलो मतान्तरले जित्दा क्षेत्र नम्बर २ मा आलेले कांग्रेसका योगेन्द्र शाहीलाई झिनो मतले हराएका थिए । समानुपातिकमा कांग्रेस नै पहिलो दल थियो।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट आले र कांग्रेसबाट बलायर भिड्दा झिनो मतले बलायर पछाडि परेका थिए । समानुपातिकमा कांग्रेस नै पहिलो दल बन्यो । प्रदेशसभाको एक सीट कांग्रेसका भरत खड्काले जित्दा अर्कोमा माओवादी केन्द्रका पछि मुख्यमन्त्री भएका भट्टले जितेका थिए । गएको स्थानीय तह निर्वाचनमा डोटी कांग्रेसको देशभरकै सबैभन्दा राम्रो नतिजा दिने जिल्ला हो । यहाँका ९ पालिकामध्ये ७ मा जितेको कांग्रेसले एकमा उपाध्यक्ष जितेको छ । ६५ वडामध्ये ३९ वटा कांग्रेसले जितेको छ।
लोकप्रिय मतमा पनि सबै दलको जोडे पनि कांग्रेसलाई नपुग्ने मत छ। वडाध्यक्षका उम्मेदवारको मतअनुसार कांग्रेसको ३४ हजार ४७, एमालेको २४ हजार ९१६, माओवादी केन्द्रको ७ हजार ७८९, नेकपा एसको ३ हजार २०५ र राप्रपाको ९८७ मत छ । अहिले आलेलाई सीट छाड्नुपर्दा यहाँ प्रतिनिधिसभामा कांग्रेस उम्मेदवारविहीन छ । कांग्रेस प्रदेशसभाको एउटामात्रै सीटमा खुम्चिएको छ । यस्तोमा निर्णायक रहेको कांग्रेस मतले यहाँको चुनावी गणितलाई रोचक बनाएको छ।
स्वतन्त्र उम्मेदवार खड्काले कांग्रेसको बहुसंख्यक मत तान्नसके जीत सुरक्षित छ । हालसम्मको स्थिति हेर्दा आन्तरिक रुपमा कांग्रेसका अधिकांश मत उनले बटुल्ने स्थिति देखिएको छ । यसबाहेक उनी अन्य पार्टीको मत पनि तान्नसक्ने र तटस्थ मत पनि प्रभाव पार्नसक्ने व्यक्ति हुन् । एमालेका केही पुराना नेता नै उनको पक्षमा खुलेर लागेका छन् । उता आलेलाई पूर्ण रूपमा गठबन्धनकै भर छ । यद्यपि उनी आफै भने एमालेको ५० प्रतिशत मत तान्ने दाबी गरिरहेका छन् । जुन सहज छैन । उनको जीतहार कांग्रेसको मतमा निर्भर छ । खड्काको उम्मेदवारी र उनको पक्षमा बढ्दै गएको माहोलले आलेलाई ‘कर्नर’मा पु¥याउँदै लगेको छ । यद्यपि आर्थिक परिचालनका सिद्धहस्त खेलाडी आले त्यसको प्रयोगले आफू जीत दोहो¥याउने प्रयासमा छन्।
उता खड्काको उम्मेदवारीले एमाले पनि हौसिएको छ । एमालेले गौरी वलीलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनको मत आले र स्वतन्त्र उम्मेदवार खड्कामा बाँडिँदा असम्भव देखिएको डोटीको सीट आफ्नो पोल्टामा पर्नसक्ने एमालेको बुझाइ छ । यदि एमालेले चक्र मल्ललाई प्रतिनिधिसभामा उठाएको भए उनी बलियो उम्मेदवार हुने थिए । यद्यपि मल्ल प्रदेशसभामा उम्मेदवार बनेकाले पार्टीभित्र समस्या नरहेको दाबी नेताहरुको छ । नरेन्द्र खड्कालाई बागी उम्मेदवार अथवा गठबन्धनको मत कटाउने उम्मेदवारका रुपमा बाहिरबाट हेरिए पनि डोटीको राजनीति बुझेका र यहाँ भिजेकाहरु भने उनलाई सम्भावित विजेताका रुपमा हेरिरहेका छन्। कांग्रेसको ८० प्रतिशत मत पाए भने नरेन्द्रको विजयलाई कसैले रोक्न नसक्ने कतिपय नेताहरु बताउँछन्।नेपाल प्रेसबाट