बैतडी। बैतडीको पुर्चौडी नगरपालिका लामनीमा चितुवाले आतंक मच्चाएको छ । करिब एक महिना देखि पुर्चौडी ८ लामनीमा चितुवाले आतंक मच्चाएको हो । एक महिना देखि लामनीमा चितुवाले आतंक मच्चाउदा समस्या भएको स्थानीय पिताम्बर जोशीले जानकारी दिए । गाउँमै पसेर चितुवाले गोठमा बाँधेका बाख्रा खाने गरेको उनले बताए ।
मंगलबार राती गाउँमा पसेको चितुवाले स्थानीय भुवन राज जोशीका पाँच ओटा बाख्रा मारेको उनले बताए । उनका अनुसार रातीको समयमा गोठमा पसेको चितुवाले दुइ ओटा खसि लगेर गएको र तीन ओटा बाख्रा मारेर गएको छ । यस्तै अर्का स्थानीय देव दत्त जोशीका चराउन जंगल लगेका दुइ बाख्रा चितुवाले खाएको बताइएको छ । चितुवाले बाख्रा मार्न थालेपछि अहिले स्थानीय किसानहरु चिन्तीत भएका छन्। चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको स्थानीयहरुको दुखेसो छ । जंगलबाट चितुवा गाउँमा पसेर बाख्रा खान थाले पछि स्थानीयहरु अहिले त्रसित बनेका हुन् ।