कञ्चनपुर–२ मा सत्ता गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार बहादुरसिंह थापाले निर्वाचन जितेपछि आफू मन्त्री हुने संकेत गरेका छन्। सत्ता गठबन्धनले सोमबार शुक्लाफाँटा नगरपालिका–५ मा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन जिते प्रदेश सरकारमा मन्त्री हुने संकेत गरेका हुन्।
संविधानसभा सदस्य हुँदा संविधान निर्माणपछिका दुई वर्षमा आफूले पहल गरेर निर्माण भएका विभिन्न आयोजनाहरु स्मरण गराउँदै नेता थापाले मन्त्री भइसकेपछि विकासका लागि चिन्तै नलिन स्थानीयसँग आग्रह गरे। ‘विकासका लागि तपाईंहरु चिन्तै नलिनुस्। बाटाघाटा, पुल–पुलेसा जति छन्, सानातिना कुराहरु स्थानीय सरकारबाट भइहाल्छ। बाँकी ठूला कामका लागि एनपी ९एनपी साउद० जी माथि संघमा गइहाल्नुभयो भने मन्त्री हुने पक्कापक्की हुन्छ,’ उनले भने, ‘एउटा राम्रै मन्त्रालय उहाँ पाउनुहुन्छ। म पनि जितेर गएँ भने केही न केही राम्रै ठाउँ पाइहाल्छु। त्यो हाम्रो शक्ति हुन्छ।’
गठबन्धनले कञ्चनपुर–२ मा प्रतिनिधिसभातर्फ नेता साउद र प्रदेशसभा तर्फ ‘क’ मा नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट र ‘ख’ मा कांग्रेसका बहादुरसिंह थापालाई उम्मेदवार बनाएको छ। यो क्षेत्रमा नेकपा एमालेले प्रतिनिधिसभातर्फ नरबहादुर धामी र प्रदेशसभातर्फ ‘क’ मा बचनबहादुर सिंह र ‘ख’ मा कृपाराम रानालाई उठाएको छ।