बझाङ । बझाङको मष्टा गाउँपालिकामा बुधबार जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो ।सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
दुर्घटनामा परी मष्टा गाँउपालिका वडा नं २ खेतकोटका लोकेन्द्र खड्काकी १३ वर्षीया छोरी सम्झाना खड्का, सोही ठाँउका हेमराज खड्काका १५ वर्षीय छोरा रोशन खड्का, २८ वर्षीया बसन्ती धामी र ११ वर्षीय बालक प्रचण्ड खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । अन्य मृतकको भने सनाखत भइसकेको छैन । यस्तै दुर्घटनामा १८ जना यात्रुहरू घाइते भएका छन् ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरी निरीक्षक अवस्थीले बताए । घाइते हुनेमा मष्टा गाउँपालिका,२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, जिप चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, सोही वडाका २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा साडा १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेका छन् ।