धनगढी : बझाङमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो ।
सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘६ जनाको शव भेटिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । घाइतेहरुलाई अस्पताल पठाइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्हरीले बताएको छ ।
मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन । उनका अनुसार जिप टुक्राटुक्रा भएको छ । अहिले पहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन ।
घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम भइरहेको छ । उक्त जिप जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै थियो । जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको छ ।