डडेलधुरा। नेकपा एकीकृत समाजवादीले बीपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेल्धुरा कमिटीलाई निर्देशन दिएको छ । केन्द्रमा भएको सहमति विपरीत डडेल्धुरा प्रदेश सभा ख मा डा. ताराप्रसाद जोशीले उम्मेदवारी दिएका थिए ।
जिल्ला कमिटीले बीपी कांग्रेससँग तालमेल गरेको थियो। यो सहमतिअनुसार एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका कांग्रेस बीपीका कर्ण मल्ललाई र प्रदेशसभा ख मा बीपी कांग्रेसले जोशीलाई सघाउनुपर्ने हुन्थ्यो ।तर एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन केन्द्रीय सदस्य जोशीलाई निर्देशन दिएका छन्।
साथै जिल्ला अध्यक्ष कविन्द्र विष्टलाई पार्टी निर्णय विपरीत काम नगर्न निर्देशन दिएका छन् ।महासचिव भुसालले भने, ‘पार्टी केन्द्रको अनुमति नलिई तालमेल गरिएको छ, त्यो तोड्न भनेका हौं।’ केन्द्रीय सदस्य जोशी र अध्यक्ष विष्टले केन्द्रको निर्णय पालना नभए पार्टीको जिम्मेवारीबाट स्वतः मुक्त हुने भुसालले बताएका छन्।