धनगढी : आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधीसभाको निर्वाचन एकै चरणमा हुँदैछ । यतिबेला बिभिन्न दल तथा स्वतन्त्र ब्यक्तीहरु मनोनयन दर्तापछि चुनावी अभियानमा केन्द्रित छन् । एका तर्फ सत्ता गठबन्धन त अर्को तर्फ एमाले सहितका दलहरु चुनावी मैदानमा होमिएका छन् । आसन्न निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधीसभा उमेदवार रहेका काग्रेंस नेता डिल्लीराज पन्तसंग चुनावी रणनितिका बिषयमा स्टेट सेभेन अनलाइनका सह सम्पादक दिनेश बिष्टले गरेको कुराकानी
क्षेत्रबाट एकल सिफारिश हुनुभएकी आरजुलाई छोडेर प्रदेशमा सिफारिश भएका तपाइलाई किन केन्द्रको टिकट दिएर पठायो ?
आरजु भाउजुको स्वास्थ्यका कारणनै उमेदवार परिवर्तन गरिएको हो । उहाँको ढाडको समस्या र भरखरै पेटको अप्रेसन भएको छ । उहाँले नियमित चेकजाँचका लागी गइरहनुपर्ने, चिकित्सकले हिँडडुल नगर्नुहोला आराम गर्नुहोला भनेर सुझाव दिएका कारण उहाँले स्वास्थ्यकै कारण यो निर्णय लिनुभएको हो ।
२०७४ सालमा पराजय भोगेकी आरजु यस पटकपनि पराजित हुन्छुकी भन्ने डरले ब्याक हुनुभएको हुन की ?
राजनितिमा हारजित भइरहन्छ । निर्वाचन ठुलो खेल हो तर राजनिति गर्ने मान्छे जित हारबाट भाग्दैन यो राजनितिमा सामान्य लिइन्छ । उहाँले पराजयका कारण भन्दापनि स्वास्थ्यकै कारण ब्याक हुनुभएको हो ।
उहाँपछि धेरै नेताको चर्चा थियो, तपाई प्रदेशमा सिफारिश भएको मान्छेले संघको टिकट पाउनुभयो यहाँका नेताहरुको समर्थन कस्तोे छ ?
मलाई यहाँको नगर तथा क्षेत्रलेनै समर्थन गरेका हो । मैले त प्रदेशमै दोहोरिन खोजिरहेको थिए, एक पटक प्रदेशसभा सदस्य भइसकेका कारणपनि मैले फेरी यहाँनै काम गर्न खोजिरहेको थिए । आरजु भाउजु चुनाव लड्न नासक्ने भएपछि उहाँले कसलाई टिकट दिदा काग्रेंस जित्छ त भनेर यहाँका नेताहरुसंग सर सल्लाह गर्नुभयो र मेरो नाम नेताहरुले दिएपछि म उमेदवार भएको हुँ । त्यही कारण मैले टिकट पाएको हुँ ।
स्थानिय तहमा काग्रेंस भित्रकै अन्तरघातका कारण मेयर÷उप मेयरनै गुमाउनु परेको थियो यस पटक केही सुध्रियो की काग्रेंस ?
त्यो बेला र अहिले परिस्थिती फरक छ, पात्रहरु प्mरक छन्, भिजन फरक छ, स्थानिय तह र प्रदेश संघ फरक छ । त्यो बेला पार्टी र मतदातानै लापरबाह थिए त्यस कारण नेपाली काग्रेंसले स्थानिय तहमा पराजित ब्यहोर्नुपरेको थियो । त्यही हारले काग्रेंस सुध्रिएको छ, अहिले एकढिक्का भएको छ ।
तपाइले आफ्नो प्रचार प्रसार कतिको गरिराख्नुभाको छ, के गतिबिधि अगाडी बढाउनुभाछ ?
म अहिले पार्टीसंग हिनिरहेको छु । वडा वडामा प्रचार प्रसार समिति गठन गरिरहेका छौँ । वडाका समिति गठन गरिसकेका छौँ । गठबन्धनको समिति तयार भयो अब दलको समिति परिचालन गर्नका लागी सक्रिय बनाउँछौँ । गठबन्धन र दललाइपनि हामी परिचालन गर्नका लागी हामी त्यही अभियानमा हिनिरहेका छौँ ।
२०७४ सालमा आरजुलाई घेराबन्दीमा रहेको आरोप लागेको थियो तपाई पनि घेराबन्दीमा त हुनुहुन्न ?
आरजु भाउजु नेपालको प्रथम महिला हुन् । उहाँसंग सबैले जान खोज्ने, भेट्न खोज्ने र आफ्नो प्रभाव देखाउने स्वभाविक हो । म त यहाँको लोकल मान्छे हो मलाई सबैले चिनेकै देखेकै छन् । मलाई देखाउनुपर्ने कारण केही छैन, म कुनै घेराबन्दमिा छैन । म यहाँको राजनिति, जनताका भावनापनि राम्रोसंग बुझेको छु । प्रदेशको माननिय हुँदा समेत मैले माननियझैँ ब्यवहार देखाएन । त्यस कारण जनता र कार्यक्रताले मलाई सामान्य ब्यक्तीको रुपमा बुझ्छन् । मलाई घेराबन्दीमा हाल्नुपर्ने म घेरिनुपर्ने केही देख्दिन ।
स्थानिय तहमा सजग नभएरै पराजय भोग्नुपरेको भन्नुभयो यस पटकको चुनावमा फरक शैली अपनाउनुभाछ की ?
अहिले फरक छ । उतिबेला उमेदवारको अन्तिम नामावली समय र चुनावको समय धेरै नजिक भयो । त्यो बेला संगठनलाई बलियो बनाउने प्रचार प्रसार गर्ने निकै कम समय पायौँ । हामीले गठबन्धन गठबन्धन भन्यौँ त्यो नेता तहमा मात्रै भयो । कार्यक्रता र जनतासम्म त्यो गठबन्धन गएन । मतपत्रपनि अली अप्ठ्यारो थियो । अहिले समयपनि छ, सहजपनि छ । त्यो कारण स्थानिय तहभन्दा निकै सहज हुन्छ ।
गठबन्धनलाई बलियो चाहीँ कसरी बनाउनु हुन्छ ?
हामीहरु प्रचारमा जाँदा सामुहिक रुपमा गइरहेका छौँ । तिनवटै दलको नेता कार्यक्रता संगै छौँ । गठबन्धनको औचित्य जनतासामु पुगाइरहेका छौँ । स्थानिय तहमा जनतालाई गठबन्धनको आवश्यक्ता बारे स्पस्ट पार्न सकेका थिएनौँ । जनताले गठबन्धनको मर्म बुझुन भनेर एकदम संयुक्त रुपमा कटिबद्धताका साथ हामी गइरहेका छौँ ।
चुनावी एजेण्डा के बनाउनुभाछ ?
सबैभन्दा पहिले एजेण्डा त स्थानिय स्तरको आवश्यक्ताका आधारमा हो । कुनै ठाउँमा सडक निर्माण, तडबन्धन महत्वपुर्ण काम गर्नुपर्ने छ । मल, बिउ खादका कुरा, खानेपानीका समस्या समाधान, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती गर्ने, सामुदायिक बिद्यालयको गुणस्तर बढाउने, धनगढी बिमानस्थलको स्तरोन्नती गर्ने, गौरिफन्टा नाकाको स्तरोन्नती, प्रादेशिक आयुर्वेदिक अस्पताल, गेटा मेडिकल कलेज सञ्चालन लगायतका साना र ठुला काम गर्नका लागी मैले एजेण्डा लिएको छु ।
आफ्ना प्रतिस्प्रधीलाई कसरी लिनुभाछ ?
प्रतिस्प्रधी कसैलाइपनि कमजोर ठान्नु हुन्न । म ठान्दैन सबैले एक अर्कालाई बलियोनै देख्छन् र आफु संघर्ष गर्छन् । म कसैलाई कमजोर देख्दैन, बिपक्षीलाई कमजोर देखेकै कारण हामी स्थानिय तहको चुनाव हारेका हौँ । बिपक्षीलाई बलियोनै देखेको छु तर उहाँहरुभन्दा म बलियो बन्छु मेरो सोच हो अरुलाई कमजोर देखेर चुनाव जितिदैन, तर आफु बलियो बन्ने रणनिति बनाउनुपर्छ त्यो म गरिरहेको छु ।
काग्रेंसलेनै कार्वाही गरेका पुस्करनाथ ओझा तपाइका लागी कति समस्या बन्नुहुन्छ ?
त्यस्तो गाह्रो हुँदैन । मसंग संगठन छ, अर्को म यहाँको स्थानिय मान्छे हो । मैले यहाँ धेरै काम गरेको छु, बिभिन्न क्षेत्रबाट यो समाजको मैले सेवा गरेको छु । त्यस कारण मलाई यो समाजले मान्छ, अनी मलाई भोट नदिनुपर्ने कुनै कारण देख्दैन, त्यस कारण मलाई सहज छ । मलाई समस्याको रुपमा उहाँ हुनुहुन्न् ।
उहाँले काग्रेंसकै भोट काट्नुहुन्छ नी ?
उहाँ पहिला काग्रेंसकै हुनुहुन्छ होला, उहाँले केही काम गर्नुभयो होला मैले अरु उमेदवारलाई जसरी लिइरहेको छु उहाँलाइपनि त्यसरीनै लिइरहेको छु ।
पुराना दलबाट नागरिक दिक्क छन्, जता स्वतन्त्र त्यता लहर छ, पुराना दलले एजेण्डा पुरा गरेनन्, तपाई चाहीँ एजेण्डा पुरा कसरी गर्नुहुन्छ ?
सबै दलहरुमा एजेण्डा बनाउने लागु गर्न नसक्ने देखियो । धेरै लागु गर्नै नसकिने एजेण्डा बन्ने, हामीले कुनै बढाई चढाई नगरेर गर्न सकिने मात्रै एजेण्डा दिनुपर्ने रहेछ । जनताले चाहे अनुसार कसैलेपनि काम गर्न सकेनन् त्यस कारणपनि हो । अब स्थानिय तह जस्तो स्वतन्त्रले संसद भएरत काम गर्न सक्दैनन नी, कुनै न कुनै दलको सरकार बन्ने हो । स्वतन्त्रको न कुनै सरकार न कुनै दल, आफ्ना ठाउँमा योजना ल्याउनकै लागीपनि स्वतन्त्रले कुन माध्यमबाट माग्ने आधार हुन्न । दलको मान्छेले आफ्नो सरकार, आफ्नो पार्टी मार्फत त योजना ल्याउँछ । त्यस कारण संसदमा स्वतन्त्रको भुमिका कम हुन्छ ।