धनगढी : आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधीसभाको निर्वाचन एकै चरणमा हुँदैछ । यतिबेला बिभिन्न दल तथा स्वतन्त्र ब्यक्तीहरु मनोनयन दर्तापछि चुनावी अभियानमा केन्द्रित छन् । एका तर्फ सत्ता गठबन्धन त अर्को तर्फ एमाले सहितका दलहरु चुनावी मैदानमा होमिएका छन् । आसन्न निर्वाचनमा नेकपा एमालेले सुदूरपश्चिमका लागी बनाएको रणनिति र कैलाली क्षेत्र नम्बर ४ को आफ्नो चुनावी रणनिति कस्तो बनाउनुभएको छ लगायतका बिषयमा स्टेट सेभेन अनलाइनका सह सम्पादक दिनेश बिष्टले नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टसंग गरेको कुराकानी
नमस्कार सचिव ज्यु
नमस्कार, धन्यबाद
नेकपा एमालेले आसन्न चुनावलाई लिएर सुदूरपश्चिममा कस्तो रणनिति बनाएको छ ।
हामीले पहिलो चरणमा उमेदवार दर्ता गर्ने काम सकेका छौँ । केही साथीहरुले स्वतन्त्र उमेदवारको रुपमापनि मनोनयन गर्नुभएको थियो, हामीले फिर्ता लिने समयअवधीमा फिर्ता लिन आग्रह गरेका थियौँ, अधिकाशं साथीहरुले पार्टीको निर्देशन मानेर फिर्ता लिनुभयो, कञ्चनपुर १ र २ मा भने साथीहरुले फिर्ता लिनुभएको छैन । पार्टीभित्र इच्छा राख्नु स्वभाविक हो, इच्छा पार्टीको निर्णय आउनुअघी ठिक हो, पार्टीको निर्णय आइसकेपछि सबैले कार्यान्वयन गर्नुपर्ने हो तर केहीले गर्नुभएन उहाँहरुलाई हामी अनुशासनको कार्वाही गर्छौँ । अर्कोतिर हाम्रो सबै जिल्लाहरुमा निर्वाचन परिचालन समन्वय समिति बनेका छन्। ति कमिटिहरुका उप समिति बन्ने क्रम जारी छ, ति कमिटि मार्फत जनताका बिचमा जाने काममा हामी लागेका छौँ । जनताका बिचमा हामी सरकारमा हुँदा या प्रतिपक्षमा हुँदा देश र जनताका पक्षमा गरेका कामहरुलाई लगेर हामी जाँदैछौँ । अहिले बढिजसो प्रबिधिलाई उपयोग गरेको देखिन्छ, हाम्रो पार्टीलेपनि प्रबिधिलाई प्राथमिकतामा राखेर चुनावी अभियान बनाएको छ ।
धेरै नेता कार्यक्रताहरुले टिकट वितरणमा अशन्तुस्टी राख्नुभएको छ, किन टिकट पाउनुपर्ने नेताले पाएनन् ?
पार्टीको आन्दोलनमा लागेको ब्यक्तीले निर्वाचनमा इच्छा राख्नु स्वभाविक हो । हामीले निर्वाचनलाई बर्ग संघर्षकै रुपमा लिएका छौँ । र एउटा अवशर हो, सबैले चाहाना राख्नु स्वभाविक हो । तर चाहाना राखेकाहरुमध्येपनि उपर्युक्तकोपनि उपयुक्र्त, अहिलेको आवश्यक्ताका आधारमा पार्टीले उमेदवार छानेको हो । पार्टीले निर्णय गरिसकेपछि त्यो कार्यान्वयन गर्नुको बिकल्प हुन्न । तर कैलाई म योग्य थिए, अरुभन्दा बढी योग्य थिए भनेर क्षणिक आबेगमा आउने हुन्छ, ति आबेगमा आएर दिएका अभिब्यक्तीलाई पार्टीले त्यति गम्भिर रुपमा लिएको छैन । उहाँहरुले पार्टीको निर्देशनलाई आत्मसात गरेर आफ्नो उमेदवारी फिर्ता लिइसक्नुभयो र निर्वाचनमा सक्रियताका साथ पार्टीलाई जिताउने प्रतिबद्धताका साथ लाग्नुभएको छ । अब केही मान्छेहरुमा पार्टीका निति निर्देशन नमान्ने अराजक प्रवृती छ, हाम्रो पार्टीमापनि केही देखा परे । त्यसमा हामीले समिक्षा गर्छौँ, हामबिाट कमी कमजोरी भए, त्यो अनुशरण गर्छौँ होइन भने हामी सहन्नौँ अनुशासनको कार्वाही गर्नेछौँ ।
केन्द्रमा भिम रावल, घनश्याम भुषालहरुलाई टिकट दिइएन भुषाल त स्वतन्त्रनै उठ्नुभाछ, केन्द्र जस्तै उनका निकटका मान्छेहरुलाई यहाँपनि पाखा लगाउन खोजिएको हो ?
मलाई त्यस्तो लाग्दैन, अहिलेको आवश्यक्तामा कसको आवश्यक्ता छ, कसले जनताको मन बढी जित्न सक्छ ति नेताहरु छनौट गरेर टिकट दिइएको हो । घनश्याम जि जस्तो शैद्धान्तिक, बैचारिक नेता टिकटकै लागी एमालेमा बस्नुभा रहेछ नी भन्ने बुझियो । पार्टीभित्र आफ्ना बिचार राख्ने हो त्यसलाई छताछुल्ल लैजाने कुरा कम्युनिस्ट पार्टीमा हुँदैन । जनवादको भरपुर उपयोग गर्ने र पार्टीले निर्णय गरिसकेपछि निति योजना कार्यान्वयन गर्नुपर्ने हो । उहाँहरुका बारेमा मैले धेरै टिप्पणी गर्दैन । त्यो लेनिनवादी बिचारमा पर्दैन, स्वतन्त्र हुने सबैलाई अधिकार छ, पार्टीभित्र नबसेर म बाहिरबाटै चुनाव लड्छु भन्दानी स्वभाविकनै लाग्छ । तरपनि उहाँ बिशुद्ध टिकटका लागी बस्नुभारहेछ भन्ने बाहिर देखियो ।
अब भिम रावल जीका अशन्तुस्टी मिडियामा आए, पार्टी नेतृत्वका बिरुद्ध छर्लगं आए यो कम्युनिस्ट बिचार, लेनिनवादी संगठनात्मक शिद्धान्त र बिधि भन्दा बाहिर हो भन्ने लाग्छ । उहाँले जे राख्नुभाछ त्यो कमिटि र नेतृत्वमा राख्ने हो, आफ्ना भिन्न बिचार त महादिवेशनमा राख्ने हो, अहिले सामान्य पार्टीका कुरापनि मिडियामा छताछुल्लनै गर्नुपर्ने होइन । पार्टीको बिधि, पद्धती, बिधान नमान्ने जो छ त्यो संगठनात्मक रुपमा अराजकतामा ब्यप्त भाछ । रावलजी जस्तो लामो इतिहाँस गरेको नेतृत्व बन्न धेरै लगानी चाहिन्छ, पार्टीकोपनि उत्तिकै लगानी चाहिन्छ । रावल जी पार्टीका बैठकमा बोल्दा बिधि पद्धतीमा जोड दिनुहुन्थ्यो तर उनले मिडियामा भनेका कुरा हेर्दा उहाँ आफले बिद्धि पद्धती मान्नु भएको छैन । आफ्ना समस्या अध्यक्ष तथा नेतृत्वसंग भेटेर राख्नुपथ्र्यो त्यो राख्नसक्नुभएन ।
सुदूरपश्चिममापनि बढीजसो उहाँ निकटकैले टिकट पाएन भनेर अशन्तुस्टी ब्यक्त गरिरहनुभाथ्यो, आम निर्वाचनमा यो अशन्तुस्टीले प्रभाव त पार्ला
अशन्तुस्टी पोख्ने ठाउँ सामाजिक सञ्जाल र मिडिया होइन । अशन्तुस्टी पार्टी भित्रै राख्ने कुरा हो । राजनितिक रुपमा छुट्टै बिचार छ भने त्यसलाई दस्ताबेजीकरण गरेर महादिवेशनमा लैजाने कुरा हो । अरु बेला आफ्ना भिन्नै बिषय पार्टीमा राख्ने हो पार्टीभित्रै त्यसको समाधान गर्ने हो । कम्युनिस्ट पार्टीको बिधि आलोचना र आत्मआलोचना गरेर समस्याको समाधान गर्ने हो । अहिले बैचारिक स्खलन बढी देखिन्छ, जुन स्तर कायम गर्नुपथ्र्यो त्यो कमी भएको होकी लाग्छ, अहिले अध्यायनमा कार्यक्रताले त्यसो जोड दिएका छैनन् । फेसबुके कल्चरले त्यसमै बढी रमाउने क्रम देख्छु, त्यसले प्रभाव पार्छ । अब त्यो मत राख्ने कमरेडहरुपनि अन्तमा पार्टीकै पक्षमा उभिन्छन भन्ने मलाई लाग्छ ।
एमालेको रणनिति सुदूरपश्चिम प्रदेशसभामा कति सिट ल्याउने हो ?
हरेकले लडाई लड्दा जित्ने लक्षनै राख्छ । हामीले त सबै ल्याउने लक्ष छ । अहिले भरखरै माओल शुरु भएको छ कति ल्याउन सकिन्छ भनेर अहिलेनै भन्न सक्ने स्थिती छैन । म त हिजो युद्धपनि लडेको मान्छे लडाइ त जसरीपनि जित्नुपर्छ भन्ने नै हो अहिलेपनि, हार्ने छुट छैन भन्ने प्रशिक्षित गरेका छौँ । अहिले लडाइको प्रारम्भमा छौँ, हामी रणनिति बनाउँदैछौँ, जनताका बिचमा हाम्रा एजेण्डा, आवाजहरु लैजाँदैछौँ, र राष्ट्रर राष्टियतालाई कसले बचाउन सक्छ ति कुराहरुलाई जनताका बिचमा लैजाँदैछौँ । राष्ट्र अहिले एमाले बाहेक अरुले बचाउन सक्दैन, अहिले हाम्रो नेतृत्व केपी सर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छौँ । त्यो भएर अहिले हाम्रो प्रारम्भिक तयारी भनेको पुर्ण जितको लक्ष राख्ने हो, लक्ष राख्दै जाँदा केही दिनपछि हामी कति जित्छौँ भनेर आउँछ, अहिलेनै यति जित्छौँ भन्यो भने हाम्रो लक्ष्य प्राप्ती भन्दा कमजोरी हुन्छ । हाम्रो अहिलेको उद्देश्यभ नेको पुर्णत जित्नुपर्छ भन्नेनै हो ।
यसपाली तपाइले नयाँ प्रतिस्प्रधी पाउनुभाको छ, काग्रेंसको प्रदेश सभापतिनै सत्ता गठबन्धनबाट हुनुहुन्छ तपाइको तयारी कस्तो छ ?
मैले मतदाता र जनतामा बिश्वास गरेको छु । उहाँ मेरोपनि मित्रनै हो, उहाँका बारेमा मैले केही टिप्पणी गर्नु छैन । डोटीबाट कैलाली झर्नुभाछ, भोली फेरी डोटीनै जाने होला । उहाँले यो क्षेत्रलाई हेर्नुहुन्छ, कसरी बिकास गर्नुहुन्छ, हिजोका दिनमा के के बिकास गर्नुभाछ त्यो हेर्नुपर्ने हुन्छ । उहाँले त के के पार्टी छोड्ने भनेरपनि भनिराख्नुभाथ्यो त्यो खालको टिप्पणी आवश्यक छैन । उहाँले कम्युनिस्ट बिचारलाई कसरी बुझ्नुभाछ थाहा छैन। तर उहाँले कम्युनिस्ट आन्दोलन र बिचारलाई बुझेको छैन लाग्छ, बुझ्ने उहाँको प्रयत्न हुने कुरा भएन । नेपाली काग्रेंमा थुप्रै बुझेका नेताहरु छन्, जस्तै प्रदिप गिरि उहाँसंग त म धेरै चोटी सुझावनै लिन्थे । तर बलायर जी कम्युनिस्ट भनेपछि एकदमै बिरोध गर्ने मैले देखेको छु । म त यहीँ हुर्केको पढेको, राजनिति यहीँबाट शुरु गरेको, मेरो राजनिति डोटी होइन यहीँबाट हो । म त जिम्मेपारीका हिसाबले यो क्षेत्र मात्रै होइन पुरै सुदूरपश्चिमको बिकास मेरो जिम्मामा छ लाग्छ । हिजोका दिनमा समग्र बर्गका लागी लडेको हुँ, हिजोको जनयुद्धमापनि मैले त कम भन्दा कम यहाँका नागरिकलाई क्षती होस भन्ने सबै भन्दा बढी ध्यान मैले दिएको थिए । त्यो कुरा यस क्षेत्रका जनताले राम्रोसित बुझेका छन् । त्यस कारण कुनैपनि बिचार र पार्टीसंग जोडिएका जनताले मलाई सफल बनाउँछन् । मलाई जिताएर पठाउँछन भन्ने बिश्वास छ ।
यो क्षेत्रमा हुर्केकै कारण, राजनिति गरेकै कारण मलाई जिताउनुहुन्छ भन्ने बिश्वास हो ?
मैले जे गरिरहेको छु, मैले ब्यक्तिगत र परिवारका लागी केही गरेको छैन । मैले राजनितिक जिवनमा लागेपछि बिभिन्न आन्दोलन, संघर्ष, जनयुद्धमा मैले नेतृत्वनै गरे । शान्ती प्रकृयामा आइसकेपछि सुदूरपश्चिमको इतिशासलाई नेपालको इतिहाससंग कसरी जोड्ने, जातिय समिकरणलाई कसरी सन्तुलन ल्याउने लगायतमा म केन्द्रित रहे । जबसम्म सुदूरपश्चिममा औधोगिकरण गर्दैनौँ, रोजगारी श्रृजना हुन सक्दैन । शिक्षा, स्वास्थ्य, रोजगारी यस क्षेत्रका जनताका आधारभुत आवश्यक्ता हुन् । त्यस कारण सुदूरपश्चिमकै बिकासमा म नेतृत्वमा रहँदा या नरहँदा कटिबद्ध थिए । तत्कालिन बाबुराम भट्टराइ र प्रचण्ड नेतृत्व भएका बेला सु.प बिश्व बिद्यालय र गेटा मेडिकल बलेज घोषणा गर्न लगाइयो । गेटा मेडिकल कलेजकै निर्माणमा महत्वपुर्ण भुमिका खेलेको जनताले बुझेकै छन् । अब मेरो सपना भनेको स्याउले, डोटी, उरै भन्ज्याङ फास्ट ट्र्याक बनाउनुपर्छ, मेडिकल कलेजलाई बिश्व बिद्यालयको रुपमा रुपान्तरण गर्नुपर्छ, छात्रबृती सहित यहाँका गरिबका छोराछोरीलेपनि घरछेउमै चिकित्सा शिक्षा पढ्न पाउनुपर्छ भन्ने हो । यसले गरे रोजगारी श्रृजनामा यतैको मान्छेले पाउनुपर्छ भन्ने छ । मैले शान्ति प्रकृयामा आएपछि यो क्षेत्रमा बिकासको भिजन दिए भन्ने लाग्छ । शिक्षा, पर्यटन, औधोगिकरणमा होस मैले बिकासका मोडल दिएको छु ।
म सरकारमा हुँदा दोधरा चाँदनी सुख्खा बन्दरगाहको सम्झौतासम्म गरियो अहिले काम भइरहेको छ । भोलीका दिनमा त्यसले लाखौँ मान्छेहरुलाई रोजगारी दिन्छ । त्यसकै कारण चिसापानीसम्म ६ लेन ८ लेनका सडक बन्छन् । फास्ट ट्र्याक, सुरुङ मार्ग, धनगढी, अत्तरिया औधोगिक करिडोरको डिपिआर सकिएको छ । हरैया बिषेश ब्यापार क्षेत्र भनेर डिपिआर भएर सकिएको छ, डुडेझारी औधोगिक क्षेत्र लगायत देशैभरीका औधोगिक क्षेत्र अघी बढाउन मैले काम गरे, मेरो नेतृत्व केपी सर्मा ओली सहित हामलिे यी काम अगाडी बढायौँ । कोरोनाको आक्रमण भएका बेला हाम्रो तत्कालिन प्रधानमन्त्रीले मानिसको जिवन रक्षालाइनै जोड दिनुभयो र त्यस कारण सो बेला बिकसित देशभन्दापनि कम मृत्युदर रह्यो । म त्यो बेला उधोग, बाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारीमा थिए मैले कतैपनि आपुर्तीमा कमि कमजोरी हुन दिएन, कालो बजारी महंगी बढ्न दिएन । शुरुमा अक्सीजन आपुर्तीमा समस्या भयो तर बिस्तारै त्योपनि हामीले सहज गरायौँ । त्यस कारण मैले गरेका काम र योगदानलाई यस क्षेत्रका जनताले राम्रोसंग बुझ्नुभएको छयहाँका मतदाताहरुले निराश हुनुपर्ने कुनै कारण छैन ।
सुदूरपश्चिमका लागी त उल्लेख्य बिकासका काम शुरु गरे भन्नुभयो तर कैलाली ४ का जनताले तपाइलाई कसरी सम्झिने त ?
जबसम्म यो क्षेत्रमा औधोगिकरण हुँदैन जबसम्म बिकास हुँदैन रोजगारी श्रृजना हुँदैन । जबसम्म गुणस्तरिय शिक्षा गरिबका छोराछोरीलेपनि पाउँदैनन् तब सम्म बिकास हुँदैन । पिछिडिएको बर्गका जनताले सस्तो सुलभ दरमा शिक्षा, स्वास्थ्य पाउँदैनन तब सम्म उनको जिवनस्तर माथी उठ्दैन । निशुल्क शिक्षा दिने गरी हामीले जोड दिएका छौँ । औधोगिकरण नहुँदासम्म रोजगारी श्रृजना हुँदैन, रोजगारीनै नभए मान्छे सम्बृद्ध बन्दैन त्यस कारण मेरो सबैभन्दा बढी जोड औधोगिकरण गरेर रोजगारी श्रृजन ागर्ने हो । हाम्रो पार्टीले भनेको छ सुखी नेपाली सम्बृद्ध नेपाल तर बिकसित मुलुकपनि सम्बृद्ध त छन् जनता सुखी छैनन्, अहिले हाम्रो पार्टीले कार्यदिसा ल्याएको छ त्यो सुखी नेपाली त्यो समाजवादमा रुपान्तरण हुने हो । त्यसका लागी उत्पादन हुनुपर्छ, अहिले संरचना तयार नभएका कारण जनतालाई बिश्वस्त पार्न सकिरहेका छैनौँ । उधोगको स्थापना हुनुपर्ने हो, ब्यापार बढाउनुपर्ने हो, ति सञ्चालन हुन सकेका छैनन्, यहाँ लगानी बढाएर औधोगिकरण गर्ने र रोजगारी श्रृजना गर्ने ।
तपाइको प्रतिस्प्रधी तिन दलको उमेदवार तपाई एउटै दलको गाह्रो छैन प्रतिस्प्रधा गर्न ?
मैले दलसंग आफुलाई तुलना गरेको छैन । मैले आफुलाई कैलाली क्षेत्र नम्बर ४ का जनताको साझा प्रतिनिधीका रुपमा बुझेको छु । त्यो ३ दल गठबन्धन आउँदैन भन्ने लाग्छ, म एमालेको नेतृत्वमा भएपनि, एमालेबाट लडेपनि यो क्षेत्रका जनताको म साझा मान्छे हो । सुदूरपश्चिमको शेर बहादूर देउवापछिको बिकल्प म नै हो लाग्छ । त्यो रुपमा मैले आफ्नो भुमिकालाई खोजेको छु, त्यो भुमिकालाई म इमान्दारिताका साथ पालना गर्छु । मलाई एकल प्रतिनिधीका रुपमा यस क्षेत्रका जनताले बुझेका छन् त्यस कारण मेरो प्रतिस्प्रधीमा देखिएका बलायर जीसंग केही समस्या छ भन्ने लाग्दैन ।
प्रतिस्प्रधानै ठान्नुभएको छैन ?
ठान्या छैन । किन भने म सुदूरपश्चिमको अबको बिकल्प अर्को देख्दैन । यो क्षेत्रमा बिकास र भिजन दिन सक्ने नेतृत्व अरु देखेको छैन । म त्यो भुमिका निर्वाह गर्न सक्छु र जनताको बिश्वासलाई टुट्न दिने छैन ।
एमाले फुट र आन्तरिक बिवादको प्रभाव तपाइमा पर्दैन ?
धेरै समाजवादीमा गएका साथीहरु फर्केका छन् । माओवादीमा भएका साथीहरु प्रवेश गरेका छन् । अन्य पार्टीबाट आउने क्रम जारी छ । एमाले प्रती देशभरी जस्तै यहाँपनि लहर छ । त्यसले एउटा प्रभाव छ नै, यहाँ पार्टी भन्दापनि ब्यक्ती हेर्छन जनताले । यहाँका जनताले हाम्रो उमेदवार हो भनेर बुझेका छन्, हाम्रो र राम्रो नेतालाई जिताउनुपर्छ भन्ने जनताले बुझेका छन् । सहजै जित्छु भन्नेमा ढुक्क छु ।