धनगढी। एन.आई.सी. एशिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर संचालन गरेको छ। बेदकोट नगरपालिकाको समन्वयमा एन.आई.सी.एशिया बैंक, बेदकोट शाखाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गरेको हो । घरमै भत्ता पाउन थालेपछि स्थानीय वासिन्दा खुसी भएका छन् । वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई राहत मिलेको र बैंकमा दिनभर लाईन बस्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाई छ ।
जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको एन.आई.सी. एशिया बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुबास जोशीले बताए। उनले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरुलाई थप खुसी मिलेको बताए। उनले वडा नम्बर १ देखि १० सम्म वडामै पुगेर शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पनि बताए। वडा नम्बर १ को वडा कार्यालयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण हालसम्म चार सय भन्दा बढी वासिन्दालाई वितरण गरिसकिएको छ। बैंकको शिबिरबाट लाभान्वित हुने बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहोराले जानकारी दिए ।