धनगढी। चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको छ। तर ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा केसीले भने काठमाडौं नजाने बताएको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।
डा.जैसीले भने, सेनाको हेलिकप्टर धनगढीमा आइपुगेको छ तर डा.केसीले आज कुनै पनि हालतमा काठमाडौं नजाने बताउनुभएको छ । यदि जबरजस्ती गरेमा यसलाई अपहरण मान्ने भन्नु भएको छ । केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको हो। कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता यज्ञराज जोशीले डा. केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको बताए ।
स्वास्थ्यमा जटिलता देखिएपछि डा। केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो। अस्पतालले डा.केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ। त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालको छ । अनशन बसेको दोस्रो दिनदेखि नै डा.केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो।
औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ। यसैबीच अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार काठमाडौंमा वार्ता भइरहेको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। आइतबार निष्कर्ष ननिस्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार पुन: वार्ता सुरु भएको हो ।