डडेल्धुरा। डडेल्धुरामा खेतमा लगाएको धान कुहिएपछि किसान चिन्तित भएका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ मा धान कुहिएपछि किसान चिन्तित भएका हुन् । जिल्लाको सकायल, कोराल, गौलीगाउँ लगाएतका ठाउँमा धान कुहिएर नष्ट भएको किसानहरुले गुनासो गरेका छन्।
मेहनत गरी लगाएको धान कुहिएर नष्ट भएको गन्यापधुरा गाउँपालिका–३ की कृषक चाँदनी रावलले बताइन् । मेहनत गरी लगाएको धानबाली भित्र्याउने बेला कुहिँदा नष्ट भएको भन्दै उनले दुख ब्यक्त गरेकी छिन् । बाँकी रहेको धानमा समेत रोग फैलिँदै गएकोले त्यसलाई रोक्न सम्बन्धीत निकायले ध्यान दिनुपर्ने उनले बताइन्। स्थानीय किसानले बर्खा भर घामपानी नभनेर खेतमा धान रोपेका भएपनी अहिले बाली भित्र्याउने बेला कुहिएर नष्ट भन्दै खानलाउन समस्या हुने बताएका छन् ।
कतिपय किसानले धान कुहिएर बाला नलागेपछि काटेर गोरुलाई खुवाएका छन्। स्थानीय सरकार र कृषी ज्ञान केन्द्रले राहत दिनुपर्ने किसानहरुले माग गरेका छन् । गन्यापधुरा गाउँपालिकाका कृषि शाखा प्रमुख योगेशप्रसाद पाण्डेयले धेरै ठाउँमा यो रोग देखिएको र वडा नम्बर ३ र ५ मा धान कुहिने समस्या देखिएको बताए। उनले गाउँपालिकाको कृषि शाखाले खाद्य तत्वको रूपमा जिंक, विषादी, स्प्रे आदी कृषकलाई वितरण गरेको बताए। कृषि ज्ञान केन्द्र डडेल्धुराको सहयोगमा बाली संरक्षण केन्द्र कञ्चनपुर र कृषि ज्ञान केन्द्र धनुषाबाट टिम ल्याएर धानका बाला अनुसन्धानका रूपमा पठाएकाले रिपोर्ट आउन बाँकी रहेको जानकारी दिएका छन् ।