धनगढी। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जित्ने खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मान गर्ने मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताकालागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको प्रदेशस्तरीय छनोट खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्।
प्रतियोगितामा विजयी खेलाडीलाई प्रदेश सरकारले आर्थिक तथा भौतिकरूपबाट सम्मान गर्छ उनले भने । खेलकुदले एउटा व्यक्ति, खेलाडी, समाज मात्र नभई राष्ट्रलाई चिनाउन अहम भूमिका खेल्छ उनले भने। स्वास्थ्यका लागि पनि खेलकुद अनिवार्य छ, अहिले समाजमा हामी देख्छौँ विभिन्न प्रकारका रोगले मानिसलाई ग्रसित पारेको हुन्छ, प्रदेश सरकारले गठन भएदेखि नै खेलमा महत्त्वपूर्ण काम अगाडि बढाएको मुख्यमन्त्री भट्टले भने।
प्रदेश सरकार गठन भएको पहिलो वर्ष नै सातवटै प्रदेशलाई एकै ठाउँमा ल्याएर प्रतियोगिता सुरु गरेको जानकारी दिए। साथै उनले सबै जिल्लामा खेलकुदका लागि व्यवस्थित भौतिक संरचना तयार गर्न र खेलाडीको वृत्ति विकासको लागि प्रदेश सरकारले नीतिगत तथा आर्थिक रुपमा योजनाबद्धरुपमा अगाडि बढेको उनले बताए। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशबाट खेलाडी सहभागी हुने बताएका छन्।