कैलाली। कैलालीको कान्द्रा र पथरिया नदीमा आएको बाढीले ६०० बढी घर डुबानमा परेका छन्। शुक्रबारदेखि परिरहेको अविरल बर्षाका कारण कैलालीको पूर्वी क्षेत्रका ६०० घर डुबानमा परेका हुन्। कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा ६सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भजनी नगरपालिका-८ मा रहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेको जानकारी दिए। उनकाअनुसार सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलकाघरहरु डुबानमा परेका छन्। अहिले नदीको बहाब बढने क्रम जारी रहेको छ ।
यस्तै कान्द्रा नदीमा पानीको सतह बढेर बस्तीमा पसेपछि मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेका छन् भने कान्द्रानदीकै बाढीले भजनीनगरपालिका-७ को शिविर टोल,गणेशमान टोल र दक्षिणपुर्वा टोलका पनि करिब २५० घर डुबानमा परेका छन् । यी ठाउँमा अहिलेसम्म मानवीय क्षति भने भएको छैन । बाढी बस्तीमा पस्दा प्रभावित भएकाहरुको उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ ।