धनगढी। धनगढीमा सत्याग्रहको पाँचौ दिनसम्म अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । भोकभोकै अनसन लम्बिदैं जाँदा उनको स्वास्थ्यमा समस्या देखिन थालेको हो ।चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै केसी धनगढीमा अनसनरत छन् ।
सोमबारदेखि अनसन थालेको उनको शुक्रबार पाँच दिन पुगेको छ । पाँच दिनदेखि उनले पानी बाहेक मुखबाट केही नखाएकाले स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकले बताएका छन्। डा.केसीलाई हेरिरहेका भएका सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार लगातार पाँचदिनदेखि भोकै रहेका केसीको कमजोरीपन बढ्दै गएको छ । रगतको जाँच गर्दा कडा खाले सुगरको मात्रा कम देखिएको छ।
यसैगरी, मांसपेशी दुख्ने, थकाई, रिंगटा लाग्ने जस्ता समस्या देखिएका छन् । यद्यपि, जीवनको सूचक मानिने रक्तचाप, मुटुको धड्कन, फोक्सोमा खासै समस्या नरहेको डा। कमरले बताए । ‘अहिले उहाँको अवस्था धेरै जटिल छैन’, डा. कमरले भने,‘तर, पाँचदिनदेखि भोकै बसेकाले इनर्जी एकदम घट्दै गएको छ ।’
डा. केसीलाई अहिले बोल्दा झर्किने, रिसाए जस्तो गर्ने समस्या पनि देखिएको डा. कमरको भनाइ छ ।विभिन्न सात बुँदै माग राख्दै सत्याग्रही केसीले सोमबारदेखि धनगढी उपमहानगरपालिका–१ एलएन चौकस्थित कृष्ण मन्दिरको धर्मशालामा आफ्नो २० औं सत्याग्रह थालेका थिए । तर, तेस्रो दिनबाट स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको छ । अस्पतालको क्याबिनमा रहेका उनले औषधि उपचार भने गराउन नमानेको डा.कमरले बताए । डा. केसीले मुखबाट पानी बाहेक केही पनि खान नमानेको कमरको भनाइ छ ।
‘हामीले रिक्वेस्ट गरेर अस्पतालमा त ल्यायौं तर, उहाँले औषधि लिन मान्नु भएको छैन’, कमरले भने,‘ग्लुकोज चढाउने कि भनेर आग्रह गरेका थियौं तर, मान्नु भएन । मुखबाट पानीबाहेक उहाँले केही पनि लिनु भएको छैन ।’ खाना नखाएमा कमजोरीपन अझै बढ्दै जाने र ग्लुकोजको मात्रा कम भएका कारणले उनलाई एक्कासी बेहोस हुने समस्या हुन सक्ने डा. कमरले बताए । अनसनरत डा.केसीले उठाएको माग पूरा गर्नका लागि सरकारले भने कुनै किसिमको प्रतिक्रिया जनाएको छैन । उनको ज्यान जोखिममा पर्दै जाँदा सुदूरपश्चिम प्रदेश सरकारले पनि केसीको माग मुद्दाप्रति चासो देखाएको छैन । उनको सत्याग्रहप्रति चिकित्सकले भने समर्थन जनाएका छन् ।
डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरुको तत्कालको दरबन्दी हालको बेड संख्या अनुसार बढाइनु पर्ने माग गरेका छन् । जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नु पर्ने उनको माग छ । संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण, एक्सरे लगायत आधारभूत सेवाका लागि शुल्क लिन निषेध गरिनु पर्ने, सरकारले तोकेको सूची अनुसारको सबै औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्नु पर्ने केसीको माग छ ।
यसैगरी, स्थानीय तहको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरिनु पर्ने, देशभर दीगो स्वास्थ्य सेवा पु¥याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीको नियुक्ती गरिनु पर्ने माग राखिएको छ । सरकारी स्वास्थ्य संस्था वरिवरि मापदण्ड नपु¥याइ खुलेका र जोखिमपूर्ण सेवा दिइरहेका संस्थालाई कारबाही गरिनु पर्ने माग केसीको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गरिनु पर्ने उनको माग छ । आवश्यक कानूनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने, विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरिनु पर्ने लगायतका माग राख्दै डा. केसीले पाँच दिनदेखि सत्याग्रह गरिरहेका छन्।