डोटी। भू-स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ । पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ ।
पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रले राष्ट्रिय प्रसारणको थ्रीफेज विद्युत् लाइन विस्तार गरेको हो । विस्तारित विद्युत् लाइनको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले उद्घाटन गरेका छन्।विद्युत् विस्तार भएसँगै सो बाटो भएर खप्तड जाने पर्यटकसँगै त्यस वडाका ६० घरधुरी लाभान्वित हुने डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्र लाल देवले बताए । झिंग्राना भएर खप्तड जान बर्सेनि हजारौैं पर्यटकहरू आउने गरेको खप्तड होमस्टेका सञ्चालक दिपक बहादुर खड्काले बताए ।
यसअघि विद्युत् नहुँदा खप्तड जाँदा आउँदा यहाँ बास बस्ने पर्यटकहरूलाई समस्या हुने गरेको थियो,“उनले भने, “मोबाइल, क्यामेरा, टर्च जस्ता सामग्रीहरू चार्ज गर्न समेत समस्या हुन्थ्यो । पर्यटकहरूले अँध्यारोमा रात बिताउनु पर्ने अवस्था थियो । विद्युत् पुगेसँगै पर्यटकलाई पनि सहज हुने भएको छ ।”
पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष उपाध्यायले गाउँपालिकाका सबै टोल र बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना रहेको बताए । खप्तडमा आउने पर्यटक, यहाँको सुरक्षार्थ खटिएका नेपाली सेना, राष्ट्रिय निकुञ्जका कर्मचारी, यहाँका व्यवसायी र वरपरका बासिन्दाहरूलाई लक्षित गरेर झिंग्रानामा विद्युत् लाइन विस्तार गरिएको बताउँदै उहाँले गाउँपालिकाका विद्युत् नपुगेका अन्य क्षेत्रमा पनि चाँडै विद्युत् सेवा विस्तार गरिने बताए।