दार्चुलामा डेंगुका कारण एक बालिकाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी ५ वर्षीया उषा धामीको मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए ।
ती बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको उनले बताए ।
अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिए पनि आफन्तहरूले भर्ना गरेर उपचार गर्न नमानेको जनाएको छ । यता मृतक बालिकाका आफन्तहरूले भने अन्य अस्पताल लग्छौ भनेर बिरामी बालिकालाई अस्पताल नलगेर पुनः घरमै लगेको खुल्न आएको छ ।
बालिकालाई घरमा ज्वरोले झन् च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा आज बिहान ५ बजेतिर उनको ज्यान गएको हो ।
डेंगु सङ्क्रमणका कारण शरीरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्त सञ्चार प्रणालीमा प्रत्यक्ष असर परेर बिरामीको मृत्यु हुने गरेको जिल्ला अस्पतालका प्रमुख डा। आदर्श लिम्बुले बताए।अहिले जिल्लामा हाल सम्म ३९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।