डोटी। डोटीको सायल गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । डोटीको सायल गाउँपालिका ६ कि २५ वर्षीया धौली साउदको सुत्केरी पछि अत्याधिक रक्तस्राव भए पछि थप उपचारका लागी नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको भैरव प्रसाद गण र जिल्ला प्रशासन कार्यालय डोटीको पहलमा नेपाली सेनाको एन ए ०६१ कल साइन हेलिकोप्टरद्वारा उद्धार गरिएको हो। उनलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको डोटीस्थित भैरव प्रसाद गणका गणपति जन्मतबहादुर कार्कीले बताए।
बिहीबार (आज) बिहान रक्तस्राव भएर जिल्ला अस्पताल डोटी पुगेकी उनको शिशुको गर्भमै मृत्यु भएको पाइएको थियो। शल्यक्रियामार्फत मृत शिशु निकालिएपछि उनलाई अत्यधिक रक्तस्राव भएको जिल्ला अस्पताल डोटीका मेसु निराजन श्रेष्ठले बताए। अत्याधिक रक्तस्राव हुनथालेपछि ८ पिन्ट रगत दिई उपचार गरि थप जोखिम कम गर्न रेफर गरिएको मेडिकल सुपरिटेन्डेन्ट श्रेष्ठले बताए। उनले त्यसपछि मात्रै सुत्केरीलाई रेफर गरिएको बताए।