डडेल्धुरा। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा गठबनधन नहुने भएको छ। शुक्रबार बसेको कांग्रेस डडेल्धुरा कार्य समितिको बैठकले केन्द्रिय सहमति विपरित गठबन्धन नगर्ने निर्णय गरेको हो। गठबन्धन गर्ने केन्द्रको निर्णयको स्वागत गर्दै सो निर्णय गरिएको सचिव हेमराज चटौतले बताए।
केन्द्रले गठबन्धन गर्न गरेको निर्णय स्वागत गर्दै हामीले जिल्लामा गठबन्धन नगर्ने भन्दै प्रदेश र केन्द्रलाई जानकारी गराउने निर्णय गरेका छौँ, यहाँ हामी एक्लै पनि जित्ने अवस्था छ ।’सचिव चटौतले स्थानीय तहको जस्तै मित्रवत् प्रतिस्पर्धाको लागि माथिल्लो समितिमा जानकारी गराइएको बताएका छन्। स्थानीय तहको निर्वाचनमा पनि डडेल्धुरामा गठबन्धन भएको थिएन। गठबन्धन नहुँदा समेत सात स्थानीय तहमध्ये कांग्रेस एक्लैले ५ स्थानीय तहमा जित हात पारेको छ। नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा जित हात पार्दा नेकपा एमालेले भने कुनैपनि स्थानीय तह जित्न सकेन।
यो संगै गठबन्धनका अन्य दल माओवादी केन्द्र र एकीकृत समाजवादी तथा जनता समाजवादी भने किनारा लागेका छन्। प्रधानमन्त्रीकै गृह जिल्लामा गठबन्धन नगर्ने भन्दै निणर्य भएसँगै सत्ता गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँटको निर्णय अझै पेचिलो बन्ने देखिएको छ ।त्यहाँ नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभाका लागि खगराज भट्ट आकांक्षी हुन्। उनी लगातार तीन पटकसम्म देउवासँग पराजित भइसकेका छन्। देउवासँगै पराजित भएका भट्ट यसपटक देउवालाई सहयोग गर्ने र प्रदेशमा निर्वाचन लडेर मुख्यमन्त्री बन्ने चर्चा पनि चलेको थियो। डडेल्धुराबाट कांग्रेसले प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रदेशसभा तर्फ क्षेत्र न। ख मा प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहरा र क मा कांग्रेस डडेल्धुरा सभापति भीम बहादुर साउदको सर्वसम्मत नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ भने देउवापत्नी तथा पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवालाई सिफारिस गरिएको छ।
यस्तै जिल्ला कार्यसमिति डोटीको बैठकले जिल्लामा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले बताए । ‘गठबन्धनको कुनै आवश्यकता र औचित्य छैन’,उनले भने,‘डोटीमा हामी एक्लै लड्छौँ । बैठकले उम्मेदवार बन्न आकाङ्क्षीहरू पनि सिफारिस गरेको छ ।’गठबन्धनका ‘हेभिवेट’ नेताको निर्वाचन क्षेत्रका रुपमा परिचित डोटीमा भागबण्डा र टिकटको कुरा नमिल्ने देखिएपछि यस्तो निर्णय गरिएको बताइएको छ। यहाँबाट गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले र नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधिसभामा टिकटका लागि दाबी गरिरहेका छन् । उनीहरूबिच गठबन्धनमा टिकट लिने किचलो चलिरहेकै वेला काँग्रेस डोटीले एकल रुपमा चुनाव लड्ने घोषणा गरेको छ ।प्रतिनिधिसभातर्फ डोटीबाट वीरबहादुर बलायर, भरतबहादुर खड्का, यज्ञराज पाठक, गोरख विष्ट र धीरेन्द्र शाहीको नाम सिफारिस गरिएको छ। त्यस्तै प्रदेश सभातर्फ ‘क’ बाट नरेन्द्रबहादुर सिंह र जितबहादुर खड्का ‘ख’ बाट प्रदीपकुमार देउवा र भूमिराज बडूको नाम सिफारिस गरिएको छ ।