डडेल्धुरा। आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको मिती नजिकिएसँगै चुनावी चर्चा र बहस चुलिएको छ । संघ र प्रदेशको निर्वाचनका लागी गठबन्धन त कोही गठबन्धन नगरी चुनावमा जाने रणनिती बनाइरहेका छन् । तर सत्ता गठबन्धनका दलहरू भित्रैपनी निर्वाचनमा गठबन्धनको मोडालिटीबारे अझै स्पष्ट योजना बनाउन सकिरहेका छैनन्।
तरपनी गठबन्धनका सबै दलले आआफ्नो दाबी पेस गरिरहेका छन्। गठबन्धनमा सीट बाँडफाँट गर्न सकस भएको छ।प्रत्यक्षतर्फको १६५ भन्दा बढी सीटमा दलहरुबाट दाबी प्रस्तुत भएपछि गठबन्धनमा सीट बाँडफाँट गर्न सकस भएको हो। बिशेष गरेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सीट बाँड्न असहज भएको छ । देशभर चुनावी गठबन्धनको पक्षमा रहेका देउवाले सत्ता गठबन्धनलाई कसिलो बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । डडेल्धुराबाट ६ पटक २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका सबै निर्वाचन जितेका देउवा यसपटक पनि डडेल्धुराबाट चुनाब जित्ने दाउमा लागेका छन् ।
प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा उनी सुरक्षित छन्। तर, प्रदेशसभाका दुई सीट बाँड्न उनलाई निकै सकस हुने देखिएको छ देउवालाई ।डडेल्धुरामा माओवादी केन्द्रले प्रदेशसभातर्फ दुइटै क्षेत्र दाबी गरेको छ । यसअघि लगातार तीन पटकसम्म देउवासँगै पराजित रहेका माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट यस पटक देउवाकै सहयोगमा मुख्यमन्त्री बन्ने दाउमा छन् । सुदूरपश्चिममा माओवादीका एक्ला स्थायी समिति सदस्य रहेका छन् उनी। भट्टले यसपटक पनि प्रतिनिधिसभामै दाबी गरेका हुन् । तर, देउवाले डडेल्धुरा नछोड्ने भएपछि उनी मुख्यमन्त्री बन्ने सर्तमा प्रदेशसभामा उठ्ने योजनामा रहेको बताइएको छ । माओवादी जिल्ला संयोजक उमेशप्रकाश भट्टले संघमा नभए दुइटै प्रदेश हामीले माग गरेको भएपनी कठिन अवस्था रहेको बताए ।
उनले त्यो असम्भव पनी नहुने बताए । खगराज भट्ट मुख्यमन्त्री बन्ने गरी कुनै एक प्रदेशबाट लड्न सक्ने उनले बताए । यता प्रतिनिधिसभा छोडेर दुइटै प्रदेशसभामा माओवादी केन्द्रले दाबी गरिरहेको छ । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सबैमा आफ्नो दाबी रहने स्पष्ट पारेको बताइएको छ । तर कांग्रेस नेता तथा कार्यकर्ताहरुले स्थानीय तह निर्वाचनमा जस्तै अहिले पनि गठबन्धन नगर्न सुझाब दिइरहेका छन् । कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले सबैको भावना कांग्रेस एक्लै लड्नुपर्ने उनको भनाइृ छ । उनले स्थानीय तहमा पनि कांग्रेस एक्लै लडेको बताउँदै जित्ने दाबी गरे । अहिले को अवस्थामा एक्लै लड्नुपर्ने धेरैको धारणा रहेको उनले भने । सो विषयमा प्रधानमन्त्री तथा पार्टी सभापतिलाई पनि जानकारी गराएको उनले जानकारी दिए । डडेल्धुराका अधिकांश कांग्रेस नेता कार्यकर्ताहरूले प्रधानमन्त्री देउवालाई डडेल्धुरामा तालमेल गर्न नहुने सुझाव दिइरहेका छन् ।
कांग्रेस र माओवादीबीच भागबन्डामा सकस भइरहेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेपछि डडेल्धुरामा गठबन्धनको सम्भावना कम रहेको नेताहरू बताएका छन् । डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले दुई प्रदेशसभामध्ये ख क्षेत्र माग गरेको छ ।नेकपा एकीकृत समाजवादी जिल्ला सचिवालयको बसेको बैठकले प्रदेशसभा ‘ख’ मा डा। तारा जोशीलाई सर्वसम्मत सिफारिस गरेको छ । बैठकले डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट सीट नपाएको अवस्थामा विद्रोह गर्ने जनाएको छ । नेकपा एसका जिल्ला अध्यक्ष कवीन्द्र बिष्टले ‘प्रदेश ख मा हाम्रो दाबी रहेको बताउँदै डा. तारा जोशी उम्मेदवार रहेको जानकारी दिए । यदी गठबन्धनमा हामीले यो क्षेत्र नपाए विद्रोह गर्ने उनले बताए । साथै उनलेआफ्नो पार्टीलाई गठबन्धनले एक क्षेत्र नदिए गठबन्धनभन्दा बाहिरका दलहरूसँग तालमेल गरेर गठबन्धन हराउन लाग्ने चेतावनी दिए । अन्य ठाउँमा गठबन्धन भयो भनेर हामी पछि नलाग्ने समेत बताए ।
‘स्थानीय तहमा प्रत्येक पालिका मिलाउँदा समस्या भएको भन्दै यहाँ पन्छिन पाइने अवस्था नहुने उनको भनाई छ ।यस्तै प्रधानमन्त्री देउवा गठबन्धनबाट प्रतिनिधिसभामा निश्चित जस्तै देखीएका छन् । पहिलो संविधानसभा निर्वाचनमा देउवासँग केवल १ हजार ३६८ मतान्तरले हारेका खगराज भट्ट प्रदेश ‘क’ बाट लड्ने सोचमा देखिन्छन् । यस्तै प्रदेश ‘क’ बाटै कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउद पनि उम्मेदवारका आकांक्षी रहेका छन्। देउवा निकट साउद अघिल्लो पटक परशुराम नगरपालिका प्रमुखमा विजयी भएका थिए। अहिले यस क्षेत्रबाट नैनसिंह महरको पनि चर्चा छ। उनी कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुँदै अहिले पार्टी केन्द्रीय सदस्य छन् । उनी पनि टिकटको लाइनमा रहेको कांग्रेस निकट छन्। कांग्रेस जिल्ला सभापति र केन्द्रीय सदस्यले दाबी गरेको क्षेत्र माओवादी प्रदेश इन्चार्ज खगराज भट्टको पनि रोजाइमा परेपछि यहाँ गठबन्धन मिलाउन सकस देखिएको छ । यस्तै यता प्रदेश ‘ख’ मा तीनै दलले दाबी गरेका छन्। तर, प्रदेश ‘क’ बाट निर्वाचन लडेर मुख्यमन्त्री बन्ने पक्का भएपछि माओवादी अर्को प्रदेशसभा छोड्न तयार हुने देखिन्छ ।
तर, कांग्रेस र नेकपा एकीकृत समाजवादीतर्फ भने किचलो बढेको छ । अहिलेका प्रदेश सामाजिक विकासमन्त्री बनेका कांग्रेसका गोविन्द बोहरा यस पटक यस क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बन्ने तर्खरमा छन्। अघिल्लो पटक आफू समानुपातिक बसेर जिल्ला सभापति कर्ण मल्ललाई जिताउन लागेको र जिल्ला सभापतिमा साउदलाई सहयोग गरेका कारण बोहरालाई यस पटक उम्मेदवार बनाउन देउवालाई दबाब छ । त्यस्तै अघिल्लो पटक वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरासँग पराजित कांग्रेस नेता रघुवीर भट्टले पनि प्रदेश ‘ख’ रोज्ने संकेत दिएका छन् । कांग्रेसभित्रै प्रमुख दुई व्यक्ति व्यवस्थापन गर्न सकस भइरहेका बेला एकीकृत समाजवादीका डा. तारा जोशी थपिँदा गठबन्धन झन पेचिलो अवस्थामा पुगेको छ । एकीकृत समाजवादीले टिकट नदिए जोशी एमालेमै फर्किएर उम्मेदवार बन्ने सम्भावना रहेको चर्चा चलेको छ । उनी निकट स्रोतका अनुसार गठबन्धनबाट टिकट नपाए गठबन्धनविरुद्ध अर्को गठबन्धन तयार गर्ने र सत्ता गठबन्धनलाई पराजित गर्ने उनको रणनीति छ । अघिल्लो पटक कांग्रेसका कर्ण मल्लसँग ३५६ मतले तारा जोशी पराजित भएका थिए । त्यसपछि नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।