बैतडी। बैतडीमा पुनः चितुवाको त्रास बढेको छ । बैतडीमा केही समययता चितुवा मानवबस्तीमा पस्न थालेपछि स्थानीयमा चितुवाको त्रास बढेको हो। यसै साता मंगलबार जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडीमा विद्यालय गइरहेका १३ वर्षीय पारस धनाडीमाथि चितुवाले आक्रमण गर्यो । बिहानै साढे ५ बजेतिर विद्यालय जान लागेका उनलाई चितुवाले आक्रमण गर्दा शरीरका विभिन्न भागमा चोट लागेको थियो । मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारपछि घर फर्किएका छन् ।
अहिले पनि उनी नियमित औषधि सेवन गरिरहेका छन् ।यस्तै, सोमबार राति ९ बजेतिर सोही ठाउँका ६८ वर्षका बहादुर दमाईलाई चितुवाले आक्रमण गरेर घाइते बनायो । शौलाचय जान लागेका बेला उनलाई चितुवाले आक्रमण गरेको हो । यसरी चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास छाएको छ । चितुवाको डरले गाउँघरमा हिँडडुल गर्न पनि समस्या भएको स्थानीय सीता पार्कीले सुनाइन् ।‘स्कुल जाने बालकलाई चितुवाले झम्टेको छ । शौलाचय जाँदा पनि छोडेको छैन,’ उनले भनिन्, ‘डरको कुरै नगरौं । हामीलाई धेरै गाह्रो भएको छ । घर बाहिर निस्कनै मुस्किल छ ।’ उनले बाध्यताले घर बाहिर मात्र होइन जंगल पनि जानै पर्ने भएकाले चितुवाले कतिबेला आक्रमण गर्छ भन्ने पीर बोकेर गाउँवासी ठूलो त्रासमा रहेको बताइन् ।
चितुवाको डरले गाउँका स्थानीय निकै त्रसित बनेको बैतडीको शिवनाथ गाउँपालिका–६ का वडाअध्यक्ष भरतराम पार्कीले बताए । ‘आजभोलि गाउँमै चितुवा देखिन थालेको छ,’ उनले भने, ‘घर नजिकैको मकैबारीमा पनि चितुवा देखिन्छ । ज्यानै जोगाउन मुस्किल छ ।’ बैतडीको तल्लोस्वराड क्षेत्र चितुवा प्रभावित क्षेत्र हो । त्यहाँका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाका अधिकांश बस्ती चितुवाबाट प्रभावित छन् । २०६८ साल यता एक दशकको अवधिमा यो क्षेत्रका २५ जनाको चितुवाको आक्रमणमा परी ज्यान गएको छ।
जिल्लाभर आलसम्म चितुवाको आक्रमणबाट ३२ जना घाइते भएका छन् ।चितुवाले जनजीवन कष्टकर बनाएको शिवनाथ–६ का स्थानीय विक्रम धनाडीले दुखेसो पोखे । ‘बर्सेनि चितुवाले मान्छेहरूलाई आक्रमण गर्दै आएको छ,’ उनले भने, ‘केही वर्षअघि मेरो आमालाई पनि आक्रमण गरेको थियो । अहिले गाउँका मान्छेहरू डरले समूहमा मात्र हिँड्ने गरेका छन् । कतिन्जेल यसरी सम्भव होला रु एक्लै हिँड्ने अवस्थै छैन गाउँतिर ।’रोकथामका लागि कसैले केही पहल पनि नगरेका उनले गुनासो गरे । पछिल्लो समय चितुवा मानवबस्तीमा पसेर समस्या आएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताए ।