बझाङ । बझाङमा एनआइसी एसिया बैंकमा कार्यरत सुरक्षा गार्ड मृत फेला परेका छन्। एनआइसी एसिया बैकको बझाङ शाखामा कार्यरत जयपृथ्वी नगरपालिका–११ पिठालेक घर भएका ५२ वर्षीय रोहित थापा मृत फेला परेका हुन्। उनी भदौ ३ गते देखि सम्पर्कविहिन रहेको उनका आफन्त रतन थापाले जानकारी दिए।
थापा बुधबार जिल्लाको केदारस्युँ गाउँपालिकाको चौडाम बगर नजिकै सेती नदीमा मृत अवस्थामा फेला परेका थिए। उनी करिब ३ बर्ष देखि एनआइसी एसिया बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको आफन्तले जानकारी दिएका छन्। थापा भदौ ३ गते साँझ ६ बजेपछि कार्यालयबाट बिदा भएर गएका थिए। भोलिपल्ट कार्यालय नआएर सम्पर्कविहीन भएको बुझिएको छ। आज मृतक थापाका आफन्तहरुले बैंकका विरुद्धमा नाराबाजी लगाउदै बेपत्ता भएको एक सातासम्म पनि आफूहरुलाई जानकारी नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए।
उनीहरुले खोजतलासमा लापरवाही गरेको भन्दै बैंकमा ढंगामुढा प्रहार गरेका छन्। कार्यालयसमेत तोडफोड गरिएको छ। हिजो दिउँसो देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बैंकमा सुरक्षार्थ खटिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । साथै बैंकलाई सुरक्षाको घेरामा राखेर सेवा सञ्चालन गरिने डिएसपी जागेश्वर भण्डारीले जानकारी दिएका छन्।