धनगढी। मंसिर ४ गतेलाई संघ र प्रदेशसभाको निर्वाचनको मिती घोषणा भएसँगै अहिले चुनावको चर्चाहरु हुन थालेका छन् । संघ र प्रदेशसभामा आगामी ५ बर्षे कार्यकालमा राम्रो र भिजन सहित काम गर्ने नेतृत्व आओस भन्ने बिषयका बारेमा छलफल र चाँसो हुन थालिएको छ। त्यसैले पनी स्वभाबिक रुपमा संघ र प्रदेशसभाको निर्वाचनलाई बिशेष चाँसोका साथ हेरिएको छ । केन्द्रमा पाँचदलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको रस्साकसी चलिरहँदा प्रदेशका मुख्यमन्त्रीहरूले आफ्नो अवस्था के हुन्छ भनेर व्यग्रताका साथ हेरिएको छ।
सोही अनुसार सुदुरपश्चिम प्रदेशमा पनी प्रदेशसभा सदस्यमै रहने की संघीय सांसद या मुख्यमन्त्री बन्ने भन्ने बारेमा नेताहरु कसरतमा लागेका छन् । गठबन्धनबाट मुख्यमन्त्री बनेकाहरू सकेसम्म पुनः मुख्यमन्त्रीको सुनिश्चितता चाहन्छन् । त्यो सम्भव नभए संघीय सांसद बन्ने उनीहरूको दाउ छ । अधिकांश मुख्यमन्त्रीका लागि दुइटै सम्भावना संकटमा देखिन्छ । अन्य प्रदेशका मुख्यमन्त्रीको जोड पनि सकेसम्म पुनः मुख्यमन्त्री, नभए संघीय सांसद बन्नेमा देखिन्छ । उनीहरू प्रदेशसभा सदस्यमै सीमित हुने गरी चुनाव लड्न चाहँदैनन्।
उनीहरूका लागि संघीय सांसद बन्ने बाटो भने निकै कठिन छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्य लड्न चाहन्छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका पूर्वमन्त्री प्रेमबहादुर आले र कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरको दाबी छ । उनीनिकट एक नेताका अनुसार भट्टले प्रतिनिधिसभामै जान लबिइङ गरिरहेका छन्। ‘पार्टी (माओवादी केन्द्र)ले उहाँका लागि कत्तिको अडान लिन्छ, त्यसमा भर पर्छ,’ ती नेताले भने, ‘पाँच वर्ष पूरा कार्यकाल मुख्यमन्त्री भएकाले फेरि मुख्यमन्त्री बन्नतिर भन्दा संघमा जानमा जोड छ ।’भट्टले संघीय संसद्मा जान खोज्नुको मुख्य कारण उनले चाहेर पनि पुनः मुख्यमन्त्री हुन नसक्ने अवस्था हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुराका माओवादी नेता खगराज भट्टलाई मुख्यमन्त्रीका लागि मनाएर आफ्नो अवस्था थप मजबुत बनाउन चाहन्छन् ।
भट्टले २०६४, २०७० र २०७४ को निर्वाचनमा देउवालाई निकटतम प्रतिद्वन्द्वीका रूपमा चुनौती दिएका थिए । २०६४ मा त देउवा र भट्टको मतान्तर १ हजार ३ सय ६८ मात्र थियो । देउवाको सहजताका लागि पनि सत्ता गठबन्धनभित्र डडेलधुराका भट्टलाई मुख्यमन्त्री बनाउन सहमति जुट्ने सम्भावना देखिन्छ । माओवादी केन्द्रका स्थायी समिति सदस्य र सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका भट्ट यस पटक पार्टी र गठबन्धनले आफूमाथि ‘न्याय गर्ने’ मा विश्वस्त रहेको बताउँछन् । ‘देउवासँग चुनाव लड्नु चुनौतीपूर्ण र कठिन भन्ने थाहा हुँदाहुँदै पार्टीको निर्देशनमा यसअघि ३ पटकसम्म प्रतिस्पर्धा गरें, अब उहाँ (देउवा) नै गठबन्धनको नेता भएपछि मलाई न्यायोचित व्यवस्थापन गर्नुहुन्छ भन्नेमा ढुक्क छु,’ उनले भने । गठबन्धन दलबीच प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटमा रस्साकसी चलिरहँदा प्रदेश सरकारको नेतृत्व बाँडफाँटको छलफल सुरु भएको छैन । गत निर्वाचनमा दलहरूको आश्वासनमा मुख्यमन्त्री बन्ने महत्त्वाकांक्षा बोकेर प्रदेशसभामा चुनाव लडेका नेताहरू प्रदेश सांसद र प्रदेशमन्त्रीमै सीमित भएका थिए । केही नेता पाँचवर्षे कार्यकालमा मुस्किलले मुख्यमन्त्री बनेका थिए । त्यसैले मुख्यमन्त्री बनेर राजनीतिक उचाइ बनाएका नेताहरू प्रदेशसभा सदस्यमै सीमित हुने जोखिमपूर्ण चुनावी खेलमा सामेल हुन चाहँदैनन् । उनीहरूका लागि प्रदेशबाट माथि उठ्ने उत्तम विकल्प संघीय सांसद हो, जुन अधिकांशका लागि चुनौतीपूर्ण देखीएको छ ।