बझाङ। माओवादी केन्द्रका नेता कृष्णकुमार सिंहले प्रदेशसभा चुनाव २०७४ मा बझाङ प्रदेश (ख) बाट निर्वाचित सांसद पुनः दोहोरिन चाहेमा विद्रोह हुने चेतावनी दिएका छन् । निर्वाचित दुवै सांसदले काम गर्न नसकेको भन्दै नेकपा माओवादीका नेता सिंह (अस्मित) ले उनीहरू नै पुनः दोहोरिए विद्रोह हुने चेतावनी दिएका हुन् । मंगलबार पत्रकारसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले यी माननीयहरूले कार्यकर्तालाई हाम्रा हुन् भन्ने महसुससमेत गराउ नसकेको बताए। उनले भने, हामी जस्ता सिनियर कार्यकर्ताले समेत त्यो महसुस गर्न पाएका छैनौँ, फेरि उनीहरूलाई नै दोहोर्याएर कार्यकर्तालाई थप निराश बनाउनु हुँदैन । पार्टीले दुवै जनालाई छनोट नगर्ने समेत उनको दाबी छ । ‘गठबन्धनका दलभित्र पात्रको विषय, सांसद को हुने भन्ने विषय पार्टीले निर्णय गर्ने हो । क्षेत्रीय कमिटीले प्रदेशलाई सिफारिस गर्ने हो । त्यो सिफारिस केन्द्रमा आउँछ।
आकांक्षा राख्ने कुरा स्वभाविक हो। जसले पनि इच्छा राख्ने पाउँछ। उहाँहरू पार्टीबाट सिफारिस हुने सम्भावना सकिएको छ,’ सिंहले भने । उनले वर्तमान सांसद देवकी मल्ल र शान्ति नेपाली पुनः दोहोरिने कुरा न्यायोचित नहुने तर्क गरे । ‘हामीसँग राजनीतिमा ट्राफिक जाम जस्तो छ । हामीले एउटा लिडरसिप समूहलाई एकपटक मौका दिएर पुनः जनतासामु पठाउने हो । फेरि नयाँ पिँढीलाई मौका दिएर काम गर्ने हो,’ सिंहले भने, ‘उहाँहरू नै दोहोरिने कुरा विडम्बनापूर्ण हुन्छ । यो पाँच वर्षको बीचमा जुन डेलिभरी दिनुपथ्र्यो त्योबाट उहाँहरू चुक्नु भएको छ । जनताले नै उहाँहरूलाई बहिस्कार गर्ने उनले बताएका छन् ।