बैतडी। बैतडीमा एक स्वास्थ्य चौकीको सेवा बन्द भएका छन् । जिल्लाको पुरर्चौंडी नगरपालिका स्थित वडा नम्बर ४ को भटना स्वास्थ्य चौकी तथा जोगेपानी प्रसुती गृहको ओपिडी र २४ घण्टे प्रसुती सेवा बन्द भएका हुन् । उक्त सेवाहरु कर्मचारी अभाव तथा व्यवस्थापनको कमजोरीका कारण करिब चार महिनादेखि बन्द रहेका स्थानीयले बताएका छन् ।
यस्तै राजनैतिक पूर्वाग्रहका कारण पनि सेवाहरु प्रभावित भएको स्थानीयको आरोप रहेको छ । स्थानीयले वडा नम्बर ४ का वडाअध्यक्ष दिलबहादुर धानुक र भटना स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीका कारण सेवा बन्द भएको आरोप लगाएका हुन् । सेवा बन्द भएपछि सेवाग्राहीलाई समस्या भएको भन्दै सेवा सुचारुका लागि स्थानीयहरुले मागसमेत गरेका छन । तर, कर्मचारीहरुले भने सेवा सुचारु गर्ने भन्दा पनि उल्टै स्थानीय युवाहरुलाई सामाजिक सञ्जालमा नलेख्न तथा मिडियाकरण नगर्न विज्ञप्ति जारी गरेका छन् ।
सो संस्थामा कार्यरत ९ जना कर्मचारीहरुद्वारा जारी विज्ञप्तिमा धम्कीपूर्ण भाषा प्रयोग गरिएको स्थानीय युवा प्रमोद केसीले बताए । यता, पुरर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बिनोद कुँवरले भने सो कार्यालय भवन रहेको जमिनको लालपुर्जा कार्यालयका नाममा नरहेको र एकै वडामा ३÷४ स्वास्थ्य संस्थाहरु रहेकाले समस्या आएको बताउछन् । उक्त भटना स्वास्थ्य चौकीमा कार्यरत एक अनमि अर्को ठाउँ गएपछि सेवा प्रभावित बनेको उनको दाबी छ।