कञ्चनपुर। बेलौरी नगरपालिका १० भुडाका स्थानीय बासिन्दाका आधा दर्जन घर र पसलमा गएराति चोरी भएको छ। अज्ञात चोरहरुले घर र पसलबाट गरगहना, नगद रकम र पसलमा राखिएका सामान चोरी गरेर लगेका छन्। स्थानीय पसल सञ्चालकहरुका अनुसार कृमलाल चौधरीको घरबाट सुनको तिलहरी र मोवाईल गरी रु ५० हजारको सामान चोरी गरेका छन्।
यसैगरी, साइकल पसल सञ्चालक लौटुराम चौधरीको पसलबाट दुई हजार पाँच सय नगद, खडक सिंह ठगुन्नाको पसलबाट केही नगदसहित सामान, सुन्दरलाल चौधरीको घरबाट सुनको तिलहरी र नाकमा लगाउने फुली, लाल बहादुर शाहीको घरबाट नगद १९ हजार, दुई वटा मोवाईल र रामकुमार चौधरीको घरबाट एक सेट मोवाईल चोरी भएको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपक पातलीले चोरीमा संलग्नहरुको खोजी कार्य भैरहेको बताए।