धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले परिषद र सदस्य सचिव दिपकवहादुर सिंहको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले कारवाही गर्ने विषयमा आपत्ति जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को विज्ञप्तीको हवाला दिदै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र सदस्य सचिवलाई जोडेर केही सञ्चार माध्यममा आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ।बिज्ञप्तिमा उल्लेख छ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले न्युन बजेटमा निकै धेरै खेलकुद गतिबिधी गरिरहेको छ।
परिषदले गरेका राम्रा गतिबिधीबाट राजनितीक रुपमा आत्तिएकाहरुबाट प्रभावित भएर नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले बिज्ञप्ति प्रकाशित गरेको परिषदले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले विभिन्न आरोपहरु लगाउँदै परिषदका सदस्य सचिव सिंहलाई लिखित जवाफ मागेकोमा आपत्ति जनाउँदै आरोपहरुको खण्डन गरेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले प्रेस विज्ञप्ती जारी गर्दै कारवाही गर्न लगाईएका आरोपहरु प्रमाणित गर्न चुनौती समेत दिएका छन्।
राम्रो काम गरिरहेको खेलकुद परिषदलाई काम गर्ने वातावरण नदिन र खेलकुदलाई निरुत्साहित पार्न सञ्चार माध्यमको प्रयोग गरी भ्रम सिर्जना गर्न खोजिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । परिषदले निति नियम अनुसार काम गरिरहेको र त्यसको सम्बन्धित निकायबाट परिक्षण भएको र भईरहेको विज्ञप्तीमा ठहर गरिएको छ । अतिरञ्जीत रुपमा फैलाईएका निराधार र तथ्यहीन भ्रममा नपर्न परिषदले सबैलाई आग्रह गरेको छ ।
बुधबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को कैलाली जिल्ला जनअदालत न्याय तथा कानुन विभागले विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएको थियो ।विभागका प्रमुख अविनाशले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको थियो, ‘तपाइको काम कारबाहीको सुक्ष्म अध्ययन, अनुसन्धान जारी रहेको जानकारी गराउदछौँ। निम्न लिखित कुराहरूको बारेमा तपाईले प्राप्त गरेको पत्रको बाटोको म्याद बाहेक २५ दिनभित्र आवश्यक कागजात प्रमाणसहित हाम्रो कार्यालयमा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ। अन्यथा न्याय तथा कानुन विभागको ऐन, नियम र कानुनअनुसार जनकारबाही गरिने छ।’