दार्चुला। दार्चुला जिप दुर्घटनामा मृत्यु भएका बझाङका पाँचै जनाको सामूहिक अन्त्येष्टी गरिएको छ । बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ६ उल्लानीमा भएको जिप दुर्घटनामा बझाङका ५ जनाको मृत्यु भएको थियो। मृत्यु भएका बझाङका पाँचै जनाको आज शुक्रबार सामूहिक अन्त्येष्टी गरिएको हो।
बझाङको बुंगल नगरपालिका वडा नं ८ का राइभान बोहरा, चम्फादेवी बोहरा, उजले बोहरा, पुने बोहरा र हिक्मत जागरीको सामूहिक दाहसंस्कार गरिएको बुंगल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष लोकेन्द्रबहादुर जाग्रीले बताए। उनीहरु शव पोष्टमार्टम पछि बझाङको बुंगल नगरपालिका ८ स्थित सेरा मसानघाटमा सामूहिक अन्त्येष्टी गरिएको हो।
ओल्के पर्वको दिन रोजगारी र उपचारका लागि भारतको धार्चुलाका लागि हिँडेका एकै गाउँका पाच जनाको दुर्घटनामा परेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमग्न बनेको छ । मृतकका परिवारलाई राहत दिने बिषयमा यही भदौ ८ गते नगर कार्यपालिकाको बैठक बस्ने र त्यो बैठकबाट केही निर्णय हुने वडा अध्यक्ष जाग्रीले बताए ।