काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना र सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ । चिकित्सा विश्वविद्यालयका रूपमा गेटालाई सञ्चालन गर्न सकिने आधार रहेको उपसमितिले औंल्याएको छ । उपसमितिले विश्वविद्यालय स्थापनाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिन समितिलाई आग्रह गरेको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सञ्चालन गर्न गेटाको ९० प्रतिशत पूर्वाधार पूरा भएको र बाँकी पूर्वाधार निर्माणलाई तत्काल पूर्णता दिनुपर्ने उपसमितिको निष्कर्ष छ । पूर्वाधार निर्माण गर्न ५ अर्ब खर्च भइसकेको छ । गेटामा ३ सय शय्याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डा। प्रमोद जोशीलाई निर्देशक नियुक्तिसमेत गरिसकेको छ ।पछिल्लो समय गेटा मेडिकल कलेजलाई कुन मोडलमा सञ्चालन गर्ने भन्नेमा अन्योल छ । सरकारले मेडिकल कलेजका रूपमा सञ्चालन गर्ने भने पनि स्थानीय सरोकारवाला, जनप्रतिनिधि र स्थानीयले विश्वविद्यालयका रूपमा सञ्चालन गरिनुपर्ने माग राखेका छन् ।
अस्पतालको सेवा सुरु गर्न ४२ जना विशेषज्ञ डाक्टर, २४ जना मेडिकल अधिकृत, करिब २ सय स्टाफ नर्ससहित प्यारामेडिक्स र प्रशासनिक कर्मचारीको दरबन्दी माग गरिएको छ तर हाल ८ जना प्रशासनिक कर्मचारी मात्रै कार्यरत छन् ।गेटामा ६ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्न पूर्वाधार बनिसकेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । २६ वटा आधुनिक भवन, १५० जना विद्यार्थी अट्ने कक्षाकोठा, लाइबेरी, छात्रावास, कुरुवा कक्ष, शव घर, अक्सिजन प्लान्ट भवन, लाउन्डी भवन, क्यान्टिन र प्रशासनिक भवन बनिसकेको उपसमितिले जनाएको छ । कञ्चनपुरका सांसद दीपकप्रकाश भट्टले गेटालाई विश्वविद्यालय बनाउन भन्दै प्रस्ताव पेस गरेपछि समितिको टोलीले स्थलगत अध्ययन गरेको थियो ।
सांसद योगेश भट्टराई, चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, अञ्चना विशंखे र नवीना लामाको टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो । सरकारले प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको छ । सरकारले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीसँग विसं २०८० भित्र प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने सम्झौता गरेको थियो ।२०७५ सालमा जारी चिकित्सा शिक्षा ऐनमा पनि उक्त सम्झौताअनुरूपकै लक्ष्य राखिएको छ । देशभर २५ मेडिकल कलेज सञ्चालनमा रहे पनि हालसम्म सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज छैन । त्यहाँ मेडिकल कलेज स्थापना गर्न सरकारले २०६५ सालमा सम्भाव्यता अध्ययन गरेको थियो ।२०६६ सालमा मेडिकल कलेज संरचना निर्माण विकास समिति गठन गरेर काम थालिएकामा २०७० देखि पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो । पछिल्लो समय सरकारले गेटालाई सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गर्ने र डडेलधुरामा समेत मेडिकल कलेज स्थापना गर्ने कार्यक्रम अघि सारेपछि अन्योल बढेको छ ।