कैलाली। कैलालीको खुटियादेखि डोटीको दिपायलसम्म द्रुतमार्गको ट्र्याक खोल्नै २० वर्ष लागेको छ । सुदूरपश्चिमको तराई क्षेत्र र पहाडी जिल्लासँग जोड्ने कैलालीको खुटियादेखि डोटीको दिपायलसम्म ८६ किलोमिटर लामो द्रुतमार्ग निर्माणमा भएको अनियमितताका कारण ४ वर्षभित्रै ट्र्याक खुल्नुपर्नेमा २० वर्ष लागेको हो । कैलालीको खुटिया नदीदेखि चुरे हुँदै डोटीको बर्छैन, खसरे र कफल्लेकीदेखि दिपायलसम्म जम्मा ८६ किलोमिटर दूरीको सडक निर्माण २०६० मा खुटिया—दिपायल फास्ट ट्र्याक निर्माण सुरु भएको थियो ।
लामो समयसम्म वन मन्त्रालयले चुरे क्षेत्रमा रुख कटानीको स्वीकृति नदिएका कारण सडक निर्माण सुरु हुन सकेन भने वनको स्वीकृतिपछि निर्माण कम्पनीहरूको लापरबाही र अनियमितताका कारण सडक निर्माण हुन सकेन । आयोजनाका सूचना अधिकृत दिनेश रैखोलाले २ ०७४ भन्दाअघि लागेका ठेक्कामा अहिलेसम्म काम सम्पन्न हुन नसकेको बताए। उनले ‘कहिले प्रदेश, कहिले स्थानीय तह र कहिले सडक डिभिजन कार्यालयले ठेक्का लगाएका कारण पनि सडक निर्माणमा ढिलाइ भएको बताए । यस्तै उनले प्रदेश सरकार गठन भएपछि दुई वर्ष द्रुतमार्ग प्रदेश सरकारको मातहत रहेको बताउँदै २०७६ पछि मात्र द्रुतमार्ग आयोजनाको कार्यालय खुलेपछि काम सुरु भएको जानकारी दिए ।
रैखोलालले भने जस्तै द्रुतमार्ग निर्माणका लागि सुरुमा कैलाली र डोटी जिल्ला विकास समितिमार्फत काम भयो । त्यसपछि कुलपाते सडक डिभिजन कार्यालयले केही वर्ष जिम्मा लियो । त्यसपछि महेन्द्रनगर सडक डिभिजन कार्यालय मातहत यसको निर्माण कार्य अगाडि बढ्यो । ०७४ मा प्रदेश सरकारको भौतिक मन्त्रालयअन्तर्गत पनि काम भएको देखिएको छ ।०७६ सम्म यो सडकमा विभिन्न कार्यालयमार्फत ७० करोडभन्दा बढी बजेट खर्च भएको छ । ट्र्याक खोल्न मात्र यति धेरै रकम खर्च भएको यो पहिलो सडक पनि हो । एक कन्सलटेन्ट इन्जिनियर हरिकृष्ण रेग्मी भन्छन्, ‘द्रुतमार्गमा पर्ने विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रमा निर्माण गरेका ग्रामीण सडक पनि द्रुतमार्गमा जोडिएका छन् । स्थानीय तहको लगानी पनि जोड्ने हो भने ८६ किलोमिटर ट्र्याक खोल्न १ अर्ब बढी रकम खर्च भएको छ ।’
ट्र्याक खोल्ने ठेक्का पाएका ४ वटा निर्माण कम्पनीले अहिलेसम्म पनि आफ्नो काम सम्पन्न गरेका छैनन् । सूचना अधिकृत रैखोलाका अनुसार अहिले पनि विभिन्न ठाउंँमा कल्भर्ट निर्माणका काम त्यतिबेलाकै ठेक्कामा काम भइरहेको छ । ०६४ मा ठेक्का पाएका निर्माण कम्पनीहरूका कारण नै यो सडक निर्माणमा ढिलाइ भएको पनि सूचना अधिकृत रैखोलाले बताए ।पछिल्लो समय धनगढीमा द्रुतमार्ग निर्माण आयोजनाको कार्यालय खुलेपछि सडक कालोपत्र गर्ने काम सुरु गरिएको छ । आयोजना कार्यालयका अनुसार डोटी र कैलाली दुवैतिरबाट सडक कालोपत्र गर्ने काम सुरु भइसकेको छ । सूचना अधिकृत रैखोलाका अनुसार २० किलोमिटर डोटीबाट र २९ किलोमिटर कैलालीबाट कालोपत्र बनाउन ठेक्का लागिसकेको छ । तर, यसअघि १३ किलोमिटर कैलाली र ७ किलोमिटर डोटीबाट सुरु भएको कालोपत्र गर्ने काम पनि सुरु हुन सकेको छैन । वर्षात्का कारण काम सुरु हुन नसकेको आयोजनाले जनाएको छ । सूचना अधिकृत रैखोलाले भदौबाट द्रुतगतिमा काम सुरु बताउँदै यसबर्ष देखी ठेक्कामा पनि काम सुरु जानकारी दिएका छन् ।कान्तीपुरबाट