धनगढी। आज साउन महिनाको अन्तिम सोमबार भएकाले धनगढीको शिवपुरीधाम लगायतका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ। साउन महिनामा सोमबार ब्रत बसेर शिवको पूजा गरीन्छ। सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा धनगढीको शिवपुरी धाम लगायतका शिवालय मन्दिरमापनी बिहानैदेखि भक्तजनको भीड लागेको छ।साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ। साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ। साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन्। आज अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ। साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ। यस अवसरमा आज देशैभरका शिवालयहरुमा पनि भक्तजनको भीड लागेको छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन्। यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ। पहिलोपटक व्रत बस्नेका लागि पाँच सोमबार परेको वर्ष उत्तम मान्ने प्रचलन रहेको शिवपुरीधामका पुजारी हरिनारायण भटट्ले जानकारी दिएका छन्।