धनगढी : काठमाडौंमा सम्पन्न भएको गजल प्रतियोगितामा समिर ओझा देशभरमै पहिलो भएका छन् । देशभरबाट दुई सय जनाभन्दा बढीको सहभागिता भएको प्रतियोगितामा ओझा पहिलो भएका हुन् । यो संगै उनले आगामी दिनमा अझ बढी उत्कृष्ट गजल लेख्ने जिम्मेवारी काँधमा आएको बताएका छन् । ‘देशभरमै पहिलो भएपछि थप जिम्मेवारी पनि बढेको उनले बताए ।
विज्ञान विषयको पढाइलाई व्यवस्थापन गरी साहित्यमा बामे सर्दै गरेका उनले गजललाई नछोडने बताएका छन्। डोटीको केआइसिंह गाउँपालिका वडा नम्बर २ मा जन्मिएका समिर ओझा अहिले २१ वर्षका भए। स्कुले जीवनदेखि नै कला साहित्यमा रुचि राख्ने उनै समिर अहिले युवा गजलकार भएर उदाएका छन्। कक्षा १० सम्म गाउँकै विद्यालयमा अध्ययन गरेका उनी उच्च शिक्षा अध्ययनका लागि कैलाली झरेपछि उनका रचना धेरैको कानमा गुन्जिए।