बैतडी। शुक्रबार महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका दुई किशोरी अझै भेटिएका छैनन्। शुक्रबार दिउँसो एक बजे नुहाउने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका दशरथचन्द नगरपालिका ८ साङडीका दुई किशोरी अझै नभेटिएका हुन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेका छन्। महाकाली नदीमा बगेर बेपत्ता भएपछि अहिले पुरै गाउँ शोकमग्न भएको छ।
वल्लो पल्लो घरका दुई जना किशोरी महाकालीमा बगेर बेपत्ता भएको तीनदिन बितिसक्दा समेत उनीहरु फेला पर्न सकेका छैनन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले खोजी कार्य जारी राखेका भएपनि अहिले सम्म बेपत्ता किशोरीहरु फेला पर्न नसकेका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए। शुक्रबार रातिदेखि नै खोजी कार्य जारी रहेको उनले बताए। एकै गाउँका दुईजना किशोरीहरु महाकालीमा बगेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको छ।
एकै गाउँका किशोरीहरु बगेर बेपत्ता भएपछि आफन्तहरु निराश भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। उनले भने ‘हामीले सकेसम्म खोजी गर्ने प्रयास गरेका छौं । महेन्द्रनगर सम्म प्रहरीलाई खबर भएको छ । सीमावर्ती भारतीय सुरक्षाकर्मीलाई पनि खबर गरेका छौं ।’सीमावर्ती भारतीय बजार झुलाघाटस्थित राष्ट्रिय इन्टर कलेजमा कक्षा १० मा अध्ययनरत दुई किशोरीहरुको मृत्यु भएपछि सीमावर्ती क्षेत्रका उनका साथीहरु समेत निराश भएका छन्। रक्षा बन्धनकै दिन दिउँसो नुहाउने क्रममा महाकालीमा बेपत्ता भएका किशोरीहरुको खोजी कार्य जारी रहेको छ। बिहानदेखि साँझ सम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको टोलीले खोजी गरिरहेको भएपनि अहिले सम्म फेला परेका छैनन्।