बैतडी। बैतडीमा बजार अनुगमनका क्रममा ८ जना व्यापारीमाथी कारवाही गरिएको छ । बैतडीमा चाडपर्व लक्षित र चालु आर्थिक बर्षमा पहिलो पटक गरिएको बजार अनुगमनका क्रममा ८ जना व्यापारीमाथी कारवाही गरिएको हो । संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता हित विपरीत म्याद गुज्रेका सामग्री विक्रि वितरण गर्ने, मूल्यसूची नराख्ने र लेबल नभएका सामग्री विक्रि वितरण गर्ने ८ जनालाई जरीवाना गरेको छ।
बैतडीको दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र खोचलेक बजारमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । एकजनालाई २० हजार, २ जनालाई १०/१० हजार र ५ जनालाई ५/५ हजारका दरले जरीवाना तोकिएको छ। उनीहरुलाई ७ दिनभित्र जरीवाना बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भारतीले बताए ।यस्तै बजार अनुगमनका क्रममा २३ हजार बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको छ । २२ ओटा पसलमा अनुगमन गर्दा बरामद गरिएको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको हो।
बजार अनुगमनका क्रममा व्यापारीहरुलाई सम्बन्धित निकायमा दर्ता हुन, मूल्य सूची राख्न र म्याद गुज्रेका सामग्री विक्रि वितरण नगर्न निर्देशन दिइएको छ। यस्तै उपभोक्ता र व्यापारी दुवैलाई उपभोग्य सामग्रीको उत्पादन र उपभोग मिति हेरेर मात्रै खरीद विक्रि गर्न आग्रह गरिएको छ । बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, दोगडाकेदार गाउँपालिकाका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना कार्यालय, स्वास्थ्य कार्यालय लगायतका सरोकारवाला निकायको सहभागिता थियो । संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन कार्यलाई निरन्तरता दिइने जनाएको छ ।