बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिका १ लुगेनाकी ५५ बर्षिय जलु देवी बुढा ५ बर्ष देखी एक छोरासहित ओडारमा बस्दै आएकी छन्। उनको ६ बर्षको छोरा मिन बुढा सहित उनि ओडार बस्दै आएका छन् । बाजुराको काँडा प्रहरी चौकीले आमा र छोरा ओडारमा बस्दै आएको जानकारी पाएपछि शुक्रवार उद्धार गरेका हुन् । प्रहरीले दुबैलाई काडा स्वास्थ्य चौकीमा राखेका छन्।
ओडारमा बस्दै आएका आमा र छोरा दुबै कुपोषीत रहेका छन्। भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि जलुदेवीसँग बझाङ्ग बाट बिहे गरेका थिए। जलुदेवीका तीन छोरा छन्। जेठा छोरा १८ बर्षका चक्र बुढा भारत गएका छन् । १२ बर्षका छोरा कुशल बुढा बुवासँग घरमै बस्दै आएका छन्। ६ वर्षीय कान्छा छोरा मीन जलुदेवीसँग ओडारमा बस्दै आएका छन्।जलुले ओडारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर आफू र छोराको पेट भरेर गुजारा गर्दै आएकी थिईन् । खानेकुरा र लत्ताकपडाको समेत उनीसँग अभाव रहेको थियो।श्रीमानले घर लैजान खोज्दा पनि ती महिला घर गएकी छैनन्। घरभन्दा ओडार करिव ४०–५० मिटर मात्रै टाढा छ। जेठी श्रीमतीसँग मिलन नभएको र आफूसँग कहिलेकाँही झगडा पर्ने हुँदा उनी घर नगएको उनका श्रीमान भानेले बताएका छन्। भाने बुढाले घरमा मिलाएर राख्नै नसकेपछि कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर बनाइ दिएका थिए। तर, उनी त्यो घरमा आगो लगाएर ओडारमै बसेकी हुन्। उनको मानसिक अवस्था सामान्य नभएको हुँदा उनलाई घर लैजानै मुस्किल हुने गरेको भाने बुढाले वताएका छन्। खप्तड छेडेदह गाउँपालिकाले जलुदेवीको उद्धारका लागि कोसिस गरेको भए पनि सुरुमा उनी मानेकी थिइनन्।
तर, प्रहरी र जनप्रतिनिधिसहितको टोलीले उनलाई सम्झाएपछि उनी स्वास्थ्य चौकी जान तयार भइन्। खप्तड छेडेदह गाउँपालिकाले जलुदेवी र बच्चाको सुरक्षाको जिम्मा लिने बताएको छ।खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर रावलले जलुदेवीलाई गाउँपालिकाले सहयोग गर्ने बताएका छन्। ओडारमा जंगली जनावरका साथै अन्य कुराको पनि असुरक्षा नहुने हुँदा उनलाई गाउँपालिकाले नै सहयोग गर्ने उनले बताएका छन्।
जलुलाई घरकाले केही खानेकुरा दिने वताएपनि उनि खान नमान्ने गरेको स्थानियले वताए। आफुलाइ बिष हालेर मार्नलाई दिएको होला भनेर उनि खान नमान्ने गरेको एक स्थानियले वताए। राम्रो सँग खान नपाएपछि आमा र छोरा दुबै कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन्।