बझाङ। बझाङको बुंगल घटनामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि परिचालन भएको छ । बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटनामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि परिचालन भएको छ । सीआईबी टोली बिहीबार बेलुका बझाङ पुगेको जनाएको छ।
बझाङ पुगेर सीआईबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडित, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारे सोधखोज गरेर जिल्लाको अनुसन्धान टोलीलाई सघाउने बताएको छ ।बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की ५ वर्षीया छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा बुधबार मृत भेटिएका थिए । उनीहरुको जिल्ला अस्पताल चैनपुरमा पोस्टर्माटम सकेर शुक्रबार दाहसंस्कारको गरिँदै छ । मृतक गीताको माइती पक्षले श्रीमान् पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।