डोटी। एकीकृत समाजवादीका सांसद तथा नेता प्रेम आलेले डोटीमा गठबन्धन तर्फबाट निर्विकल्प उम्मेदवार रहेको दाबी गरेका छन्। पत्रकारसँगको कुराकानीमा उनले सो दाबी गरेका हुन् । उनले भने, एकीकृत समाजवादीबाट सुदूरपश्चिमबाट निर्वाचित म एक मात्रै सांसद हुँ। एमाले विभाजनका बेलामा समाजवादीबाट आएका सांसदहरूको सिट सुरक्षित गर्ने सहमतिअनुसार डोटीमा मेरो दाबी स्वत: छ। मैले डोटी छोड्ने कुरै छैन। मैले मात्रै होइन समाजवादीका निर्वाचित सांसदहरू अहिले जहाँबाट प्रतिनिधित्व गर्नुहुन्छ, उहाँहरूले त्यहीँको टिकट पाउनुहुन्छ उनले भने।
यतीबेला संसदीय निर्वाचनको सिट बाँडफाँटमा सत्ता गठबन्धनको कार्यदल जुटेको छ। बाँडफाँटमा गठबन्धनलाई पेचिलो पर्नेमध्येको जिल्ला डोटी हो। डोटीमा एक मात्रै निर्वाचन क्षेत्र छ। डोटी कांग्रेसबाट सुदूरपश्चिम सभापति वीरबहादुर बलायर र २०७४ सालमा निर्वाचित एकीकृत समाजवादीका सांसद तथा नेता प्रेम आलेको दाबी छ।गएको स्थानीय निर्वाचनमा डोटीमा कांग्रेसले राम्रो मत ल्याएको छ। कांग्रेसका जिल्लाभरिका वडाध्यक्ष उम्मेदवारको मत जोड्दा ३४ हजार ४७ छ। एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारको ३ हजार २ सय ५ मत मात्र छ।पार्टीको लोकप्रिय मतका आधारमा टिकट आफूले पाउनुपर्ने अडान बलायरको छ। उनले कांग्रेसको केन्द्रीय समिति बैठकमै गठबन्धनका नाममा कसैलाई नछोड्ने बताइसकेका छन्।
अर्कातिर एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी बनाउन भूमिका खेलेका र प्रधानमन्त्री देउवालाई सिहंदरबार पुर्याउन व्यक्तिगत प्रयत्न समेत गरेका नेता हुन् आले। प्रधानमन्त्रीको प्रतिबद्धताका कारण पनि आफू डोटीमा गठबन्धन तर्फबाट निर्विकल्प उम्मेदवार रहेको दाबी उनले गरिरहेका छन्। स्थानीय चुनावको मतको आधारमा समाजवादीलाई डोटी छोड्न नसकिने धारणा कांग्रेसभित्र छ नि भन्ने प्रश्नमा उनले भोटको फुइँ कसैले पनि नलगाए हुन्छ भने। डोटीमा कांग्रेसलाई आएको मत भनेको एमालेका उम्मेदवारले जित्नुभन्दा गठबन्धनका उम्मेदवारले जितून् भन्ने मनसायले आएको हो। माओवादीको मत पनि कांग्रेसलाई गएको छ। त्यसैले कांग्रेसले मतको दाबी गर्नु व्यर्थ छ। स्थानीय चुनाव र प्रतिनिधिसभा चुनाव फरक हो। डोटीमा कांग्रेसलाई छाड्ने कुरै छैन। मलाई त्यहाँ उठाउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहमत हुनुहुन्छ।
कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले गठबन्धनका नाममा अरूलाई नछोड्ने अडान केन्द्रीय समितिमै राख्नुभएको छ। कांग्रेसलाई पनि नेता व्यवस्थापनको चुनौती छ। यस्तो अवस्थामा तपाईंले नै पाउनु होला त ? भन्ने प्रश्नमा उनले भने, कसैले टाउको ठोक्दैमा टिकट पाउने नभएको बताए । राजनीतिक सहमतिअनुसार पाउने उनको भनाई छ । २०७४ को निर्वाचनमा बलायर मसँगै पराजित हुनुभएको हो। त्यस बेला मैले एमालेको समानुपातिक मतभन्दा तीन हजार बढी मत ल्याएको थिएँ। कांग्रेसमा त्यहाँबाट बलायर मात्रै हुनुहुन्न नि! यज्ञराज पाठक, भरतबहादुर खड्का पनि हुनुहुन्छ, उनले भने । उहाँहरूको त कुनै दाबी आएको छैन। डोटीमा सत्ता गठबन्धनकातर्फबाट म निर्विकल्प उम्मेदवार हो। तपाईंले प्रधानमन्त्री देउवासँग पनि बेलाबखत संवाद गरिरहनुभएको छ। डोटीबारे के कुरा हुन्छ पत्रकारले सोधेको प्रश्नमा आलेले भने, उहाँलाई प्रधानमन्त्री बनाउन मैले नै आठ जना सांसद ल्याएको हुँ। मेरो योगदानबारे उहाँ जानकार हुनुहुन्छ। प्रधानमन्त्रीले डोटीमा तपाईं नै हो, ढुक्क हुनुस् भन्नुभएको छ।