बैतडी। बैतडीको तल्लोस्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन कार्य प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्राहरुमा विद्यालयमै बेहोस समस्या आएपछि पठनपाठन कार्य प्रभावित भएको हो। विद्यालय आइसकेपछि छात्राहरु रुने,कराउने, काप्ने,बेहोस हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेश दत्त बागले बताए।
गएको हप्तादेखि छात्राहरुमा यो समस्या देखिएको हो। उनले भने,“दैनिक ४/५ छात्राहरुमा यो समस्या देखिने गरेको छ। कक्षा ५ देखि १० कक्षामूनीका छात्राहरुमा बढीजसो यो लक्षण देखिएको छ। १२ देखि १४ उमेर समूहमा छात्रामा बढी समस्या छ।” विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठन कार्य प्रभावित भएको प्रअ बागको भनाई छ। बिहान विद्यालय आएर एक र दुई घण्टी पढेपछी उनीहरूमा यो समस्या सुरू हुन्छ। एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्राहरुमा पनि लगत्तै देखिन्छ।
छात्राहरुमा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मीहरु पनि सोधेको उनले बताए। उनले भने,“ हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौं। स्वास्थ्यकर्मीकै सल्लाहअनुसार दुई पिरीयड मात्रै पठनपाठन गरेर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौं।”छात्राहरुमा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने,“ यो सामान्य खालको बिरामीको लक्ष्यण हुन्। उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ। मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्तना दिने, मनोबल बढाउने खालका कुरा गर्ने सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गर्नुपर्छ।” उक्त विद्यालयमा १ हजार बढी विद्यार्थी अध्ययनरत छन्।