काठमाडौँ। गठनबन्धनको विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भट्टराई र यादवसँग प्रधानमन्त्री देउवाले गठबन्धन र चुनावी तालमेलको विषयसहितमा छलफल गरिररहेका छन् ।समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतको विषयमा छलफल हुँदैछ, नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेले भने।
सत्तारुढ ५ दलीय गठबन्धनभित्रको एक दल जनता समाजवादी पार्टी छाडेर भट्टराई र यादवले नेपाल समाजवादी पार्टी गठन गरेका छन्। भट्टराई र यादव सत्तारुढ गठबन्धनमा रहन्छन् वा अन्य विकल्प खोज्छन् भन्ने चासो रहेको छ । सत्तारुढ गठबन्धन भने विस्तार गरेर ८ दल पुर्याउने विषयमा छलफल जारी रहेको छ। यसअघि महन्थ ठाकुरसहितका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले प्रधानमन्त्री देउवासँग चुनावी गठबन्धनको विषयमा बालुवाटारमा छलफल गरेका थिए ।