बैतडी। बैतडीको सुर्नयामा चितुवाको आतंक कायमै रहेको छ । सुर्नया गाउँपालिका ८ मा चितुवाले घरपालुवा जनावर खान थालेको दुई महिना भन्दा बढी भईसकेको छ । गएको अढाई महिना यता चितुवाले सुर्नयामा ५० भन्दा बढी बाख्रा खाईसकेको स्थानीयले जनाएको छ । रातिको समयमा गोठबाटै चितुवाले बाख्रा, खसी लगायतका घरपालुवा जनावर खान थालेपछि किसानहरु समस्यामा परेका छन ।
नजिकैको ढोले जंगलबाट गाउँमा चितुवा पसेर लगातार घरपालुवा जनावर खान थालेपछि स्थानीयबासीहरुमा त्रास फैलिएको छ । चितुवाले आतंक मच्चाएपछि चितुवा नियन्त्रणका उपायका बारेमा सरकारले सोच्नुपर्ने स्थानीयहरुले माग गरेका छन् ।