बझाङ। बझाङको तलकोट गाउँपालिका–४ मल्लो स्याडाकी जुना बुढाको परिवारले यार्चा टिप्न थालेको १३ वर्ष भयो । उनको परिवार प्रत्येक वर्ष साइपाल गाउँपालिकाको माझावनमा अस्थायी शिविर राखेर वैशाखदेखि असारसम्म तीन महिना बिताउँछ । साथमा १४ वर्षका छोरा र ११ वर्षकी छोरी पनि हुन्छन् । झिसमिसेमै खाना खाएर किरा (यार्चा) टिप्न दौडिनु उनीहरूको दैनिकी हुन्छ ।
किरा खोज्दाखोज्दै ५ हजार ५ सय मिटरसम्मको उचाइमा पुग्ने उनीहरू अबेर साँझमात्रै पालमा फर्किन्छन् । दिनभर कठ्यांग्रिने जाडोमा हातगोडा टेकेर पाटन चहार्दा कहिलेकाहीँ १०/१५ वटा किरा भेटिन्छन् । कहिले दुई–चारवटामै चित्त बुझाउनुपर्छ । ‘कुनै दिन एउटै भेटिँदैन, खालि दुःखमात्रै हुन्छ,’ जुनाले भनिन्, ‘चिसोले खाएर छोराछोरीका अनुहार मात्रै बिग्रिन्छन् ।’किरा खोज्ने जुनाको यो यात्रामा पाँच वर्षअघिसम्म जेठी छोरी रेखा पनि सँगै हुन्थिन् । अरू सदस्यभन्दा बढी किरा भेट्टाउने उनलाई ०७४ जेठमा माझाखोलाले निलिदियो । किरा खोजेर पालमा फर्किने क्रममा खोला तर्ने क्रममा बेपत्ता भएकी रेखाको शव पनि फेला परेन ।
भर्खर आठ वर्ष लागेकी छोरी गुमाएको यो ठाउँमा फर्कीफर्की आउनुपर्दा जुनालाई निको लाग्दैन तर पनि यहाँ नआई जीवन चल्दैन । ‘यै पापी ठौर (ठाउँमा) नआया, वर्षभरि क्या खाएर बाँच्नु हो ?’ उनी भन्छिन् । तीन जना भएर एक सिजनमा दुई सय पचासदेखि तीन सय पचाससम्म यार्चा टिप्ने गरेको उनको परिवारले गत वर्ष टिपेका ३ सय ४० किरा ७० हजारमा बेचेको थियो । यस वर्ष ३ सय १५ किरा ९६ हजारमा बिक्री भयो । तीन वर्षअघि यति नै परिमाण (करिब ६ तोला)को यार्चा ४८ हजारमा बिक्री भएको उनले सुनाइन् । ‘कसुइ (कुनै) साल त खायाको खर्च पन उब्जिँदैन (उठ्दैन), ऋणमात्रै लाग्दो छ,’ तीन महिना दुःख गर्दाको हिसाब सुनाउँदै उनले भनिन् ।
गत जेठ २३ मा सुर्मा गाउँपालिका–३ की ३७ वर्षीया सीता विक यार्चा टिपेर फर्किने क्रममा लडेर गम्भीर घाइते भइन् । पार्थी भन्ने ठाउँबाट दौलीचौर जाँदै गर्दा उनी पार्थी र अगाडबीचमा पर्ने पाल हाल्ने भन्ने ठाउँनजिक चिप्लेर लडेकी थिइन् । झन्डै २० मिटर तल भीरमा अड्केकी उनको बायाँ हात भाँच्चिएको छ । छातीको बायाँपट्टिका तीनवटा हड्डी भाँचिएका छन् । यो बाटोमा लडेर बाँच्ने उनी पहिलो हुन् । पार्थीकै बाटो यार्चा टिप्न जाँदा लडेर सुर्माका ६ जनाले ज्यान गुमाइसकेका छन् ।सीताको बझाङमा उपचार हुन सकेन । धनगढी, नेपालगन्जमा उपचार खर्च नधानेर आफन्तको सहयोगमा भारतको दिल्लीमा उपचार गरिएको थियो । दिल्लीमा खाने–बस्ने सहयोग आफन्तबाट पाउँदा पनि उनको परिवारलाई चार लाख ऋण लागेको छ । अहिले पनि पूरै स्वस्थ भएकी छैनन् ।
यो सिजनमा उनले टिपेको यार्चा ५१ हजारमा बिक्री भयो । १० वर्षदेखि यार्चा टिपिरहेको उनको परिवारको अहिलेसम्म आफ्नो नाममा जग्गा छैन । घर भएको जग्गा पनि स्थानीय गैरदलितको नाममा छ । ‘यार्चा टिपेको कमाइले ७ जनाको परिवार दुईरचार महिना गुजारा चलाउँथे,’ उनका आफन्त दिलबहादुर विकले भने, ‘अहिले आफैं लडेर घाइते भइन् । अब उपचार गर्दा लागेको ऋण तिर्न कति वर्ष लाग्ने हो ?’ सुर्मा गाउँपालिका–१ विछडाकी ३५ वर्षीया सिन्की बोहराको गत जेठ १९ मा हिमपहिरोमा मृत्यु भयो । यार्चा टिप्नकै लागि सुर्माकै व्यासीमारे हिमालनजिक पाल टाँगेर बसेकी उनी पहिरोमा पुरिएकी थिइन् । उनको शव करिब डेढ महिनापछि साउन २ मा मात्रै फेला पर्यो । सिन्कीको मृत्युसँगै उनका १४/ ८ वर्षका दुई छोरा तथा ३/४ वर्षकी दुई छोरी टुहुरा भएका छन् ।
यार्चा टिपेर फर्किने क्रममा ०७८ असारमा उनकी १३ वर्षीया छोरी कविताको खोलामा बगेर ज्यान गएको थियो । १३ वर्षदेखि यार्चा टिप्दै आएको उनको परिवार अहिले पनि बिहान खाए साँझ के खाऊँ भन्ने अवस्थामा छ । ‘पोहोर छोरी मरी, अहिले श्रीमतीले छोडी, अब यी लालाबाला कहाँ लगेर पाल्ने हो ?’ लगालग प्रियजनको वियोगले विक्षिप्त बनेका उनका पति प्रेम बोहरा भन्छन्, ‘यार्चा टिप्न नजाऊँ भने हातमुख जोर्ने अरू बाटो छैन । जाऊँ भने सालसालै ज्यान जान लागे ।’ यार्चा बेचेर वार्षिक डेढ लाखसम्म हुने आम्दानीले परिवार पाल्न नपुग्ने उनले बताए ।लामो समयदेखि ज्यान हत्केलामा राखेर यार्चा संकलन गर्दा पनि आर्थिक अवस्था उकास्न नसकेका बझाङका सयौं संकलकका प्रतिनिधिमात्रै हुन्– जुना, सीता र प्रेमको परिवार ।
देशकै सबैभन्दा बढी यार्चा संकलन हुने बझाङमा यार्चा टिप्ने क्रममै १७ वर्षयता हिमपहिरोमा परेर, हिउँमा चिप्लेर, खोलामा बगेर, भीरबाट लडेर र बिरामी भएर र अन्य दुर्घटनामा परेर दुई सय जना बढीले ज्यान गुमाइसकेका छन् । लडेर र अन्य कारणले चोट लागेर घाइते र अंगभंग भएकाको त तथ्यांक छैन । तर पनि यसरी हिमाली कन्दरामा यार्चा टिप्न ज्यानको बाजी लगाउने संकलकको आर्थिक अवस्थामा अहिलेसम्म फेरिएको छैन । कहिल्यै पाटनमा पाइला नटेकेका यार्चा बिचौलियाको आर्थिक अवस्था भने एक दशकमै अपत्यारिलो ढंगले कायापलट भएको पाइन्छ । ‘कहिले पाटनमा नजाने तर टिपेर गाउँमा ल्याएको यार्चा खरिद गर्ने सुर्माकै १५/२० जना अर्बपति भइसकेका छन् । १०/१५ वर्षअघिसम्म भारतमा मजदुरी गर्नेका पनि अहिले चैनपुरमात्रै होइन, धनगढी र काठमाडौंमा घरघडेरी छन्,’ सुर्माका दिलबहादुर विक भन्छन्, ‘टिप्नेहरूले त उनीहरूले जति भन्यो त्यतिमै दिनुपर्छ । बिचौलियाले ७/८ गुणासम्म नाफा कमाउँछन् ।’
अन्तर्राष्ट्रिय बजारमा यार्चाको मूल्य कति पर्छ भन्ने स्थानीय संकलकलाई थाहा हुँदैन । उनीहरू स्थानीय बिचौलियाले दिएको मूल्यमा बिक्री गर्छन् । कतिसम्म भने संकलकबाट यार्चा उठाइसकेपछि बिचौलियाहरू आपसमा बसेर कति रेट तोक्ने भन्ने सहमति गर्छन् । त्यसपछि मात्रै संकलकहरूलाई मूल्य बताउँछन् । ‘बिचौलियाले पछि लागेको रेट दिऊँला भनेर मूल्य नतोकी स्थानीयबाट यार्चा उठाउँछन्,’ विकले भने, ‘काठमाडौं लगेर बिक्री गरिसकेपछि यति रेट लाग्यो भनेर आफूखुसी मूल्य तोक्छन् । संकलकहरूलाई कतिमा बिक्री भयो भन्ने थाहा हुँदैन । बिचौलियाले भनेको पत्याउनुपर्छ ।’ लामो समयसम्म भण्डारण गर्दा यार्चा बिग्रने जोखिम हुने र मुख्य खरिदकर्तासम्म संकलकको पहुँच नहुने भएकाले बिचौलियाको भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
घरमा लामो समय यार्चा राखिरहँदा चोर र डाँकाको डर हुने भएकाले विश्वासकै भरमा स्थानीय व्यापारीलाई जिम्मा लगाउने गरेको साइपाल गाउँपालिकाका संकलक रुन्छे बोहराले बताए । ‘त्यत्रो सम्पत्ति कति दिनसम्म रुँगेर बस्नु, कसैले लुटिदियो भने वर्षभरिको कमाइ स्वाहा हुन्छ, अहिले दिए पनि पछि दिए पनि यहाँकै ठेकदारलाई दिने हो, बुझाएपछि ढुक्क भइन्छ,’ उनले भने । व्यापारीले चाइनिजले मूल्य नतोकेकाले काठमाडौं लगेपछि बिक्री भएको आधारमा रकम दिने भन्ने गरेको साइपालका पूर्ण बोहराले बताए । ‘सामान नहेरेरै कसरी मूल्य तोक्ने रु चाइनिजले मूल्य तोकेको छैन, काठमाडौं लगेपछि जतिमा बिक्री हुन्छ त्यही आधारमा दिन्छौं भन्छन्,’ उनले भने । जोखिम मोल्नुभन्दा घाटा खाएरै पनि बुझाउनुपर्ने बाध्यता रहेको उनले बताए । स्थानीय बिचौलियाले संकलकहरूलाई अर्को वर्ष यार्चा टिपेर दिने सर्तमा अघिल्लै वर्ष नगद, खाद्यान्न र लत्ताकपडा पेस्कीबापत दिने गर्छन् । संकलकले जसको पेस्की खाएको छ, उसलाई आफूले संकलन गरेको सबै यार्चा मूल्य नतोकेरै दिन बाध्य पारिन्छ । एउटाको पेस्की लिएर अर्को व्यक्तिलाई बिक्री गरे चर्को ब्याजसहित पेस्की फिर्ता गर्नुपर्ने सहमति गरिएको हुन्छ । ‘पेस्की खाएकोले अर्कोलाई किरा दियो भने त महिनाको सयकडा तीन रुपैयाँका दरले ब्याज तिर्नुपर्छ,’ सुर्माकै पवित्रा बोहराले भनिन्, ‘चर्को ब्याज तिर्नुभन्दा त पेस्की लिएकैलाई किरा बुझाउँछन् ।’
सुर्मा गाउँपालिकाका संकलकमध्ये प्रायः सबैजसोले अघिल्लै वर्षपछि यार्चा बुझाउने गरेर पेस्की लिने गरेको उनले सुनाइन् । ६/७ वर्ष पहिला बढी मूल्य भएका बेला त्यही आधारमा पेस्की लिएकाहरूले अहिलेसम्म पनि तिर्न नसकेको साइपालकी विमला बोहराले सुनाइन् । ‘त्यतिबेला किलोको १७/१८ लाख थियो । अर्को वर्ष पनि त्यही भाउ पाइएला भनेर कसैले चाररपाँच लाखसम्म पेस्की खाए,’ उनले भनिन्, ‘पछिल्ला वर्ष भाउ घटाएर ६ लाख बनाइदिए । उनीहरूले अहिलेसम्म पनि त्यही पेस्की तिर्न सकेका छैनन् ।’ ६/७ वर्षअघि ठूलो रकम पेस्की लिएकाहरू तिर्न नसकेर भारतमा मजदुरी गर्न गएकोसमेत उनले सुनाइन् । स्थानीयबाट आफूखुसी भाउ तोकेर यार्चा उठाउने स्थानीय व्यापारीले प्रत्येक वर्ष घाटा लाग्यो भनेर सुनाउने गरेको सुर्माका गणेश बोहराले बताए । ‘सालसालै यति करोड घाटा लाग्यो भनेर सुनाउँछन्,’ उनले भने, ‘तर प्रत्येकले चैनपुर, धनगढी र काठमाडौंमा बंगला ठड्याउने र महँगा गाडी चढेर हिँडेका हुन्छन् ।’ उनले यार्चा बिचौलियाको काम गर्ने बझाङका ५० जनाभन्दा बढी छोटो अवधिमा करोडपति भएको सुनाए । यता, यार्चा व्यापारी भने संकलकले भने जस्तो आफूलाई धेरै नाफा नहुने बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा मागका आधारमा मूल्य घटबढ हुने गरेको बझाङबाट सबैभन्दा बढी यार्चा उठाउने एक व्यापारी फुन्चोक लामाले सुनाए । ‘डिमान्ड किन घट्छ र बढ्छ भन्ने हामीलाई थाहा हुँदैन, हामीलाई घाटा हुँदा ठूलो रकम व्यहोर्नुपर्छ, फाइदा हुँदा थोरै हुन्छ,’ उनले भने, ‘लिने र दिनेको चित्त बुझेरै कारोबार हुने गरेको हो ।
ज्यान जोखिममा राखेर यार्सा टिप्ने संकलकहरूले भाउ नपाउने र बिचौलियाले बढी फाइदा लिने गरेकाले यार्चाको मूल्य निर्धारणमा सरकारले हस्तक्षेप गर्नुपर्ने संकलकहरू बताउँछन् । नेपालमा संकलन हुने यार्चाको मुख्य बजार चीन भएकाले चिनियाँ बजारको मूल्यका आधारमा सरकारले निश्चित मूल्य तोकिदिए ठूलो संख्यामा रहेका स्थानीय संकलक फाइदामा पर्ने उनीहरूको धारणा छ । ‘हजारौं जनताले ज्यान फालेर किरा टिप्ने, निश्चित व्यक्तिमात्रै रातारात करोडपति हुने अवस्था भयो,’ नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंह भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारको मूल्य बुझेर सरकारले नै दररेट सार्वजनिक गरिदिए दुःख गर्नेलाई दुई/चार पैसा नाफा हुँदो हो ।’ सरकारले मूल्य तोकिदिए आफूहरूलाई पनि सहज हुने यार्चा व्यापारीहरू बताउँछन् । यार्चा व्यापारीसमेत रहेका उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले सरकारले भाउ तोक्न सके संकलक र व्यापारी दुवैलाई फाइदा हुने बताए । ‘सरकार आफैंले खरिद गरेर निर्यात गर्ने व्यवस्था भैदिए झनै राम्रो हुन्छ,’ उनले भने ।विश्वभर नै चीनपछि नेपाल यार्चागुम्बाको दोस्रो आपूर्तिकर्ता मानिन्छ । चीनमा प्रतिकिलो ७० लाख नेपाली रुपैयाँमा यार्चाको खरिद बिक्री हुने गरेको जानकारहरू बताउँछन् । इन्टरनेटमा उपलब्ध जानकारीअनुसार जर्मनी, फ्रान्स, अमेरिकालगायत देशमा यार्चा प्रतिकिलो १ करोड २० लाखसम्म बिक्री हुने गरेको छ । यार्चाको नियमित र व्यवस्थित सेवनले यौन दुर्बलता हटाउने, दम, कलेजो, मिर्गौला आदिको समस्या निको हुने विभिन्न अध्ययनले देखाएको छ । नेपालको दार्चुला, डोल्पा, जुम्ला, मुगु, बझाङ, रुकुम, म्याग्दी, मनाङ, गोरखा, सिन्धुपाल्चोक, संखुवासभा र रसुवालगायतका जिल्लामा यार्चा संकलन हुने गरेको छ । नेपालबाट मात्रै वार्षिक दुई हजार किलो हाराहारी यार्चा निर्यात हुने गरेको वन विभागको तथ्यांक छ । नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार नेपालका ११ जिल्लामा वार्षिक ४ अर्ब ९२ करोड मूल्यको यार्चा कारोबार हुने गरेको छ ।कान्तीपुरबाट