दार्चुला। उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले देशका विभिन्न स्थानमा बन्द रहेका उद्योगहरु सरकारले सञ्चालन ल्याउने बताएका छन् । गृह जिल्ला दार्चुला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले विगतमा सरकारले संचालन गरेका तथा हाल बन्द अवस्थामा रहेका उद्योग कलकारखानाहरु पुनः सञ्चालनमा ल्याउने बताएका हुन्।
उनले हाल बन्द अवस्थामा रहेका उद्योग कलकारखानाहरु पुनः संचालनमा ल्याई व्यापार घाटा घटाउनु पर्नेमा जोड दिए । उनले भने, बन्द अवस्थामा रहेका उद्योगहरुलाई निजि क्षेत्रसंगको समन्वयमा संचालनमा ल्याउने तयारी भएको छ। बन्द रहेका उद्योगधन्दाहरु संचालन गर्न आफ्नो मन्त्रालयले कार्यविधि र मापदण्ड तयार गरिरहेको मन्त्री बडूको भनाई छ। ‘उद्योग संचालन सम्बन्धि कार्यविधि तयार गरि संसदमा लैजान्छौ, संसद्बाट कार्यविधि पास हुने वित्तिकै लागु गरि बन्द अवस्थामा रहेका उद्योगहरु संचालन गर्छौ ।’ मन्त्री बडूले भने ।
युवाहरुलाई स्वदेशमै रोजगारी दिने हिसाबले उद्योगहरु सञ्चालन गर्नुपर्नेमा मन्त्री बडूले जोड दिए । देशमा निर्यात हुने वस्तुको उत्पादन कम हुँदा व्यापार घाटा हुने गरेको र यसले अर्थतन्त्रमा नकारात्मक असर पारेको उनले बताए । यस्तै दार्चुलामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय उद्दघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार एक कार्यक्रमकाबीच कार्यालयको उद्दघाटन गरेका हुन्।
कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुपर्ने र यहाँ उत्पादन गरिने खाद्यवस्तु जिल्ला बाहिर पठाउने व्यवस्था गरिएको बताइएको छ । २०६३ सालमा विस्थापन भएको तत्कालीन खाध्य संस्थानको जिल्ला कार्यालय १९ वर्षपछि पुनःस्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले जनाएको छ । कम्पनीका अनुसार खाद्य कार्यालय जिल्लामा रहने र जिल्लाका १२ ठाउँबाट खाद्यान्न वितरण गरिने छ । जिल्लाका विभिन्न ठाउँमा खाद्यका डिपो भएपनि धनगढीबाट खाद्यान्न आपूर्ति गर्दै आएको हुनाले जिल्लामै शाखा कार्यालय खोलिएको हुनाले आपूर्तिमा सहज हुने भएको छ । खाद्य संकट झेल्दै आएका यो क्षेत्रका नागरिकलाई अब सहज हुने बताइएको छ ।