कञ्चनपुर। किसान नेता सहिद भीमदत्त पन्तको ६९ औं स्मृती दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ। यसै अवसरमा कञ्चनपुरस्थीत भीमदत्त बाटिकामा सहिद भीमदत्त पन्त स्मृती प्रतिष्ठानले शहित पन्तको शालिकमा अबिर पुष्पगुच्छा र माल्यार्पण गरि उनको योगदानको स्मरण गरि स्मृती दिवस मनाएका छन् । कार्यक्रमका सहभागिहरुले तत्कालीन समयमा शहिद पन्तले किसान र बिपन्न वर्गका लागी गरेको संर्घषको स्मरण गरेका हुन्।
डडेल्धुरामा जन्मीएर कञ्चनपुरलाई क्रान्तीको मुख्य क्षेत्र बनाएका किसान आन्दोलन गरेका सहिद पन्तको योगदान अहिले पनी स्मरणयोग्य रहेको चर्चा गरिएको हो । स्मृती प्रतिष्ठानका सचिब हरि प्रसाद जोशीले ब्रम्हदेव नुन काण्ड र ठुला ठालुहरु बिरुद उनको जेहाद अहिलेपनी सान्दर्भिक रहेको बताएका छन् । उनले अहिले ब्यवस्था फरीएपनी अवस्था उस्तै रहेको बताउँदै गरिब दिनदुखीहरुको हक अधिकारका लागी लड्ने भीमदत्तपन्त जस्ता योद्धाहरुको आवश्यकता महसुस भएको बताए। कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी, पुर्व उप सभामख भोजराज जोशी, नेकपा एमाले पोलिट ब्युरो सदस्य राजेन्द्र सिंह रावल लगायतको उपस्थीती रहेको थियो ।
नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका कोखबाट बि.स. १९८३ मंसिर १० गते जन्मेका हुन । उत्तरप्रदेश भारतको सिन्हाई बाट संस्कृत विषयमा हाइस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो ।पन्त सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने महान व्यक्ति पनि थिए। पन्तले ‘ठालु खान्ना आलु, गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोेही नाम हो । उनले ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो – यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए। जनताको हक कायम गर्न किसान आन्दोलन सहित उनले शिक्षाको विकासकालागि समेत अहम भुमिका खेले। उनले अमरगढी नगरपालिका २ बिरखम्बमा बिद्यालय समेत स्थापना गरेका थिए। वि.स.२०७२ फागुन १९ गते सरकारले भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो। किसान योद्धाका रुपमा चिनिने पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटि हत्या गरिएको थियो ।