बैतडी। बैतडीको मेलौलीमा मदिरा नियन्त्रणको माग गर्दै नगरपालिकालाई नेविसंघले ज्ञापन पत्र बुझाइएको छ । अवैध मदिराको विक्रि वितरणका कारण समाजमा अपराध बढेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र नेविसंघले बुझाएको हो। नेविसंघका मेलौली सचिव नारद भट्टल नेपाल विद्यार्थी संघ मेलौली नगरकार्यसमितिका तर्फबाट कार्यवाहक नगरप्रमुख हर्कबहादुर चन्दलाई ज्ञापन पत्र बुझाइएको बताए ।
लाइसेन्स लिएकाहरुलाई समय तोकेर मात्रै मदिरा विक्रि गर्न दिनुपर्ने, बालबालिकाहरुको भविष्य समेत अन्धकारमा परेकाले अवैध मदिराको कारोबार पूर्ण रुपमा बन्द गर्नुपर्ने लगायतका माग छन् । नेविसंघको ज्ञापन पत्र बुझ्दै कार्यबाहक नगरप्रमुख चन्दले मदिराको अवैध कारोबार नियन्त्रण गर्ने बताए । यस्तै अवैध मदिराको कारोबार नियन्त्रणमा सबै पक्षको सहयोग हुनुपर्नेमा उनले जोड दिए । ज्ञापन पत्र बुझाएपछि भएको छलफलमा लाइसेन्स लिएकाहरुले निश्चित समयमा मात्रै मदिराको कारोबार गर्न पाउने, अवैध मदिराको कारोबारमा पूर्ण रुपमा रोक लगाउने, मदिरा सेवन गरी होहल्ला गर्नेलाई जरीवाना गर्ने लगायतका सहमति भएको सचिव भट्टले बताएका छन् ।